Logo

८ माघ,सिम्रौनगढ। संघिय सरकारका अर्थमन्त्री डा. प्रकाशरण महतले आज बाराको सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार र नाकाको अवलोकण गर्नुभएको छ । उहाँले छोटी भन्सार र नाकाको अवलोकन गर्दै त्यहाँ देखिएका समस्याबारे जानकारी समेत लिनुभएको हो ।

स्थानीयले छोटी भन्सारको स्तरोन्नती गर्न जरुरी रहेको बताएका छन् । वीरगञ्ज र गौरस्थित रहेका भन्सार पुग्न समय र खर्च बढि लाग्ने भएकाले उनीहरुले सिम्रौनगढस्थित छोटी भन्सारको स्तरोन्नती गर्न अर्थमन्त्री समक्ष माग गरेका हुन् ।

यस्तै तामागढी, सिम्रौनगढ सडकमा पर्ने जग्गाको मुआब्जा, वाणिज्य बैँक र नेपाल राष्ट्र बैँकको सटही काउन्टर स्थापना गर्न समेत माग गरेका छन् । जवाफमा अर्थमन्त्री डा. मन्त्रीले छोटी भन्सार नाका खुलाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । अर्थमन्त्री डा. महतले देश आर्थिक संकटमा रहेकाले यसको समाधानबारे अध्ययन भईरहेको जानकारी दिनुभयो । उहाँले मुआब्जासम्बन्धि समस्यालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्त्वपूर्ण रहेको मन्त्री डा. महतको भनाइ छ । निजगढ अन्र्तराष्ट्रिय विमानस्थललाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुहुँदै उहाँले एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने बताउनुभयो ।

सो अवसरमा नेपाली काग्रेंस मधेश प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादव, बारा क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवम् सिम्रौनगढ नगरपालिकाका पूर्व मेयर बिजयशंकर यादव, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थी लगायतको उपस्थिती रहेको थियो ।

अर्थमन्त्री महतलाई उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले स्वागत गर्नुभयो । सिम्रौनगढस्थित प्रसिद्ध शक्तिपिठ कन्काली माई मन्दिरमा अर्थमन्त्री महतले पुजा समेत गर्नुभएको थियो ।


सम्बन्धित समाचार