१ फागुन,वीरगञ्ज । राजीनामा स्वीकृत नहुँदै सरकारी कर्मचारी जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेश अध्यक्ष बनेका छन् । स्वास्थ्य कार्यालय पर्सामा कार्यरत बालकिशोर यादवको सरकारी सेवाबाट पूर्णरुपमा अलग नहुँदै जसपा मधेश प्रदेश अध्यक्ष बनेका हुन् ।
स्वास्थ्य कार्यालय पर्सामा कार्यरत सातौं तहका अधिकृत बालकिशोर यादव जसपा मधेश प्रदेश समितिको अध्यक्ष चुनिएका छन् । स्वास्थ्य कार्यालय पर्सामा आइतबार मात्रै राजीनामा बुझाएर सोमबार मधेश प्रदेशको अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । जसपा मधेश प्रदेश अध्यक्षमा चुनिएका यादव स्वास्थ्य कार्यालय पर्सामा जन स्वास्थ्य अधिकृतको रुपमा कार्यरत रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख डा.मुक्तिनारायण साहका अनुसार जनस्वास्थ्य अधिकृत बालकिशोर यादवले आइतबार मात्रै कार्यालयमा आएर राजीनामा पत्र बुझाएका हुन् । उनी स्वास्थ्य सेवामा हेल्थ असिस्टेन्ट (एच.ए) सेवा प्रवेश गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार नियमले उनी अहिले पनि नेपाल सरकारको कर्मचारी नै रहेका छन् । जनता समाजवादी पार्टी नेपालको विधानको धारा १३५ बमोजिम मधेश प्रदेश तदर्थ समिति एवम् प्रदेश कार्यकारिणी समिति पुर्नगठन गरिएको हो, जसको अध्यक्षमा बालकिशोर यादवलाई चुनिएको छ ।
मधेश प्रदेश अध्यक्ष बनेका यादवको नेतृत्वमा ५१ सदस्यीय कार्यकारिणी समिति गठन भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवकै सहभागितामा सरकारी कर्मचारीलाई अध्यक्ष चुनिएको हो ।
यसैगरी प्रदेश सल्लाहकार समिति, प्रदेश अनुशासन आयोग र प्रदेश लेखा परिक्षण आयोग समेत गठन गरिएको जसपाका केन्द्रिय सदस्य फिरोज अन्सुरले जनाए ।
त्यसैगरि अमृत साफीको संयोजकत्वमा प्रदेश लेखा पक्षिण आयोग गठन भएको छ । यसको सदस्यहरुमा मोहम्मद अनवर हासमी, आतिश मिश्र, राजकुमार दास लगायतका छन् ।