२० फागुन,जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठबन्धनकै कारण जुनसुकै बेला धर्मराउन सक्ने अनुमान गरेका छन् ।
जनकपुरधाम विमानस्थलमा आइतबार संचारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले वर्तमान सरकारको सत्ता गठबन्धनमै अन्तर्विरोध रहेको हुनाले जुनसुकै बेला टुट्न सक्ने बताए ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा आयोजना गरिएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले सत्ता गठबन्धन भित्रै देखिएको व्यापक असन्तुष्टि र अन्तर्विरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने बताए ।
उनले आफुहरु गठबन्धन भित्रको तमासा हेरिरहेको बताउँदै उपाध्यक्ष पौडेलले आफुहरु कसैलाई पनि अहिले नै काँध थाप्ने अवस्थामा नरहेको समेत बताए ।
सत्ता गठबन्धनमा रहेका दलहरुको आ–आफ्नै स्वार्थ रहेकाले बार्गेनिंगकै भरमा सत्ता चलिरहे पनि जुनसुकै बेला अहिलेको गठबन्धन सरकार चर्मराइरहेको हुनाले टुटफुट हुन सक्ने उपाध्यक्ष पौडेलले बताए ।
उनले गठबन्धनभित्रको असन्तुष्टि प्रत्यक्षरुपमा देखिए पनि अझैसम्म पनि स्पष्ट नभएकोले अहिले नै एमालेले वर्तमान गठबन्धन सरकारलाई काँध थापेर रमिते नबने पक्षमा रहेको बताए ।
उनले अहिले मुलुकको विकास र प्रगतिको बाधक गठबन्धन सरकार रहेको समेत आरोप लगाए ।
नेताको गलामा माला लगाउन तछाडमछाड !
एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भन्दै उनको स्वागतको कार्यकर्ताहरुले दुई सय ११ किलोग्रामको फुलको माला ल्याएको थियो ।
तर पूर्वप्रधानमन्त्री ओली जनकपुरधाम आउने कार्यक्रम रद्द भए पनि उनको स्थानमा उपाध्यक्ष पौडेल आए पछि उनलाई समेत सो माला लगाएर कार्यकर्ताहरुले स्वागत गरेको थियो ।

एक दिन अघि एमालेका महासचिव शंकर पोखरेललाई समेत धनुषाको हँसपुर नगरपालिकामा एक सय एक किलोग्रामको फुलको माला लगाएर स्वागत गरेको थियो ।
धनुषामा एमालेका कार्यकर्ताहरुले आफ्ना नेतालाई रिझाउनका लागि फुलका गुच्छाको ठुलठुला माला लगाउन तछाडमछाड नै चलेको एमालेका एक केन्द्रीय सदस्यले नाम नबताउने सर्तमा टिप्पणी गरे ।

















