Logo

३० फागुन,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।

प्रतिनिधिसभाको आज(बुधबार)को बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ मत खसेको हो।

प्रस्तावको विपक्षमा ११० मत खसेको छ भने तटस्थमा एक मत परेको छ। मतदानमा २६८ सांसद उपस्थित भएका थिए।

सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उक्त प्रस्तावको पक्षमा १५७ मत खसेको र सो मत प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्यको बहुमत पुगेकाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको घोषणा गरे।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएर नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज पुनः तेस्रो पटक विश्वासको मत लिएका हुन्।

यस अघि प्रधानमन्त्री दाहालले गत वर्ष पुस १० गते एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेपछि पुस २६ मा विश्वासको मत लिएका थिए। त्यसबेला प्रतिनिधिसभाका २६८ सांसदहरुले उनको पक्षमा मतदान गरेका थिए भने विपक्षमा २ मत परेको थियो ।

फेरि सोही वर्ष फागुन १५ मा गठबन्धन परिवर्तन गरेर कांगस्रेसँग सहकार्य गरेपछि चैत ६ गते दोस्रो पटक विश्वासको मत लिँदा उनको पक्षमा १७६ सांसदले मतदान गरेका थिए भने ८९ जनाले विपक्षमा मत दिएका थिए।


सम्बन्धित समाचार