Logo

१ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताएका छन्।

बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदुषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि रणनीतिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए।

उनले जलवायु परिवर्तनका चुनौतिहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको पनि जानकारी दिए। प्रचण्डले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न स्थानीयस्तरमा विस्तृत कार्यक्रमको आवश्यकता देखिएको बताए। देशको स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्नेमा प्रचण्डको जोड थियो।

हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनु अहिलेको चुनौती रहेको बताउँदै प्रचण्डले नेपाल जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्वपूर्ण भएको पनि बताए।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक रहेको पनि बताए।
पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको बिस्फोट र खडेरीहरू बारम्बार र भयावह हुँदै गएको उनको भनाइ छ।

 


सम्बन्धित समाचार