Logo

५ चैत,जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देनले वर्तमान गठबन्धन सरकारका कारण जनतामा व्यापक असन्तुष्टी रहेकाले जनभावना अनुसार आन्दोलनको तयारीमा जुट्न आह्वान गरे ।

जनकपुरधाममा सोमबार धनुषाका कार्यकर्ता अगुवा भेलामा बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष लिंग्देनले यस अभियान मार्फत राप्रपाले मधेशलाई हेर्ने दृष्टिकोणसमेत स्पष्ट गर्ने भएकोले अगुवा कार्यकर्तालाई गम्भीरपूर्वक जनतासंग आफ्नो विचारबारे छलफल बहस गरेर जनभावना बुझ्नका लागि समेत निर्देशन दिए ।

उनले राप्रपाभित्र देखिएको गुटबन्दी प्रति इंगित गर्दै अध्यक्ष लिंग्देनले राप्रपाका अगुवा नेतादेखि कार्यकर्तासम्म एकतावद्ध भई एक अर्कालाई मान, सम्मान र माया गर्ने वातावरणको सृजना गर्नुपर्ने बताए ।
उनले अहिलेको अवस्थामा राप्रपाको आवाज र विचार सुन्नका लागि आमजनता तयार रहेको अवस्थामा आफै भित्रमा एकअर्कामा सद्भाव कायम राखेर पार्टीको विधि प्रक्रियालाई बलियो बनाउनुपर्ने बताए ।

आफ्नो हिनताबोध त्यागेर एक चोटी जनताको बीचमा जानका लागि उनले अगुवा कार्यकतालाई आग्रह गरे ।
मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनको नाममा स्थापना गरिएको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीताको नामले दलहरुका केही नेता र आफन्तजनले उपलब्धी हासिल गरे पनि आमजनताका लागि कुनै पनि किसिमले परिवर्तन हुन नसकेपछि जनताले राप्रपालाई विकल्पको रुपमा देखे अध्यक्ष लिंग्देनले बताए ।

उनले मुलुकमा व्यवस्था परिवर्तन पछि २० वर्षमा मधेशबाट ५० जनाभन्दा बढी मन्त्री भए पनि मधेशको विकासमा सिन्कासमेत भाँच्न नसक्नु दुःखद रहेको समेत टिप्पणी गरे । अध्यक्ष लिंग्देनले भने, ‘प्रधानमन्त्री बाहेक सबै पदमा मधेशी समुदाय पुगिसक्दा पनि मधेशको अवस्था झनै खस्किदो छ ।

विगतका कलकारखनाहरुसमेत ठप्प छ, लथालिंग अवस्थामा छ, नयाँ कलकारखाना उद्योगलगायतका स्थापना गरि यूवालाई रोजगारको वातावरण सृजना समेत गर्न नसक्ने सरकारले कस्तो खालको व्यवस्था खोजेको छ भन्ने अब जनताले प्रश्न गर्न थालिसकेको छ ।’

चैत ५ गतेदेखि ८ गतेसम्म तराई मधेशका ८ वटै जिल्लामा राप्रपाको आमसभा र कार्यकर्ता भेलाको आयोजना गर्ने तयारी रहेको प्रवक्ता मोहन श्रेष्ठले जनाएको छ । उनले यही चैत २७ गते काठमाण्डौँमा हुन लागेको आमसभाको तयारीमा सक्रियातापूर्वक आमजनतालाई सहभागि गराउनका लागि पनि निर्देशन दिए ।

अध्यक्ष लिङ्देनको नेतृत्वमा हुने तराइ मधेस स्तरीय विभिन्न कार्यक्रममा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामांग, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा.धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेश प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, नेतृ खुस्बु ओली र पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरूसमेत मधेश दौडाहामा छन् ।

सरकार समक्ष राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह र जनजीविकासँग सम्बन्धित विभिन्न ४० बुँदे माग पत्र पेस गरेर आन्दोलनमा होमिएको राप्रपाले यही चैत २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शनका लागि मधेश दौडाहामा निस्केका छन् ।आफ्ना मागहरूबारे जनतालाई जागरूक तुल्याउन र जनमत सिर्जना गर्न राप्रपाका नेताहरू मधेश यात्रामा छन् ।


सम्बन्धित समाचार