Logo

६ चैत,सेढवा । मौसममा आएको परिवर्तनका कारण पर्साको ग्रामीण भेगमा बिरामीको सङख्यामा ह्वात्तै वृद्धि भएको छ । बिहान बेलुकाको समयमा चिसो हुने तथा मध्यान्हपछि गर्मी बढ्दा जिल्लाका ग्रामीण भेगमा बिरामीको सङख्यामा ५० प्रतिशतले वृद्धि भएको हो ।

ग्रामीण भेगमा अहिले रुघाखोकी, भाइरल ज्वरो तथा झाडापखाला, आखाँ चिलाउने तथा पाक्ने रोगका बिरामी बढिरहेको चिकित्सकहरुले जनाएका छन् । जिल्लाको ठोरी, जीराभवानी, जगरनाथपुर, धोबिनी, पटेर्वासुगौली, सखुवाप्र्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकाका नागरिक यो रोगका कारण ग्रसित छन् ।

जीराभवानी गाँउपालिका वडा नम्बर २ शान्तिनगरका देवीका श्रेष्ठ छोरीलाई ज्वरो तथा गलफूल (गलसुवा) ले सताएको बताउँछिन् । वार्षिक परीक्षा चलिरहेकै समयमा छोरी बिसन्चो भएकोमा उनको दुखेसो छ । गाउँमा रुघाखोकी र झाडापखालाका प्रकोप झै फैलिएको जगरनाथपुर–१ पिपरडाढीका राजकिशोर चौधरीको भनाइ छ ।

जिराभवानी गाउँपालिका वडा नं २ स्थित सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले पहिलेको तुलनामा अहिले रुघाखोकी, भाइरल ज्वरो, झाडापखालाका बिरामी ५० प्रतिशतले बढेको बताए ।
त्यस्तै पटेर्वासुगौली गाँउपालिका वडा नम्बर २ मा रहेको गादी स्वास्थ्य चौकीका इन्चार्ज रियाज मियाँका अनुसार पहिले उपचार गराउन १०÷१५ जना बिरामी आउने गरेकोमा तर अहिले त्यो सङख्या बढेर २५ देखि ३० जना पुग्ने गरेको जानकारी दिए ।

उनीहरुमध्ये सबैभन्दा बढी बिरामी रुघाखोकी, ज्वरो र झाडापखालाको हुने गरेको उनको भनाइ छ ।यस विषयमा सखुवाप्रसौनी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर प्रसाद रौनियार मौसमा परिवर्तन आउँदा यस्ता रोगका बिरामी बढ्नु सामान्य भएको प्रतिक्रिया दिए ।उनले भने,‘ मौसममा परिवर्तन आउँदा रुघाखोकी तथा ज्वरोका बिरामी बढ्नु स्वभाविक कुरा हो, सोही कारण यो समयमा सबैले सरसफाई, खानपानमा ध्यान दिनुपर्दछ ।’

उनले यो समयमा प्रशस्त पानीको सेवन गर्न, पोसिलो तथा फलफूल अध्याधिक खान सुझाए ।स्वास्थ्य समस्या देखिए नजिकैको स्वास्थ्य चौकीमा जाँच गराउन र चिकित्सकहरुको सल्लाह बमोजिक औषधीको सेवन गर्न रौनियारको आग्रह छ ।


सम्बन्धित समाचार