Logo

१७ चैत,वीरगञ्ज । पछिल्लो तीन वर्षको अवधिमा मधेस प्रदेशमा २४ हजारभन्दा बढी आपराधिक मुद्दा दर्ता भएको तथ्यांक बाहिरिएको छ । आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २४ हजार ४ सय ५८ वटा आपराधिक मुद्दा दर्ता भएका हुन् ।

मधेस प्रदेश प्रहरीका अनुसार ती मुद्दाहरुमध्ये ५ हजार ८ सय ९५ वटा मुद्दा फच्र्छौट हुन बाँकी छ । आर्थिक वर्ष ०७८÷०७९ मा ८ हजार ४५४ मुद्दा दर्ता भएका छन् । यस्तै आर्थिक वर्ष ०७९/०८० मा ९ हजार ८ सय ४४ र चालु आर्थिक वर्षको फागुनसम्ममा ६ हजार १६० वटा मुद्दा दर्ता भएका प्रहरीले जनाएको छ ।

यीमध्ये पहिलो आर्थिक वर्ष ६ हजार ७९१, दोस्रोमा ८ हजार ३८ र चालु आर्थिक वर्षमा ३ हजार ७३४ वटा मुद्दा फच्र्छौट भएको प्रहरीको तथ्यांक छ । प्रदेशका ८ वटै जिल्लामा पर्सा जिल्लामा सबैभन्दा बढी आपराधिक मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्क छ ।

कुन जिल्लामा कति मुद्दा ?

तीनवर्षको सोही अवधिमा प्रदेशका भरि दर्ता भएका २४ हजार ४ सय ५८ वटा आपराधिक मुद्दाहरुमध्ये पर्सामा मात्रै ५ हजार २९९ मुद्दा दर्ज भएका छन् । जसमध्ये ४ हजार ४१४ मुद्दाहरु फच्र्छौट गरिएको र ८८५ मुद्दाहरु भने हालसम्म पेण्डिङमा रहेको प्रदेश प्रहरीले जनायो ।

आव ०७८÷०७९ मा प्रदेशभरिमा दर्ता भएको कुल आपराधिक घटना ८ हजार ४५४ मध्ये पर्सामा मात्रै १ हजार ८०३ मुद्दा दर्ता भएको प्रहरी रेकर्ड छ । उक्त मुद्दाहरुमध्ये १ हजार ५९४ मुद्दा फच्र्छौट भएको छ ।यसैगरी ०७९÷०८० मा दर्ता भएका ९ हजार ८४४ मुद्दामध्ये पर्सामा मात्रै २ हजार २७२ वटा दर्ता भएको छ । जसमध्ये १ हजार ९६६ वटा मुद्दामाथि फच्र्छौट गरेको प्रहरीको तथ्यांक छ ।चालु आर्थिक वर्षमा दर्ता भएका कुल ६ हजार १६० मुद्दामध्ये पर्सामा एक हजार २२४ वटा मुद्दा दर्ता भएका छन् । यीमध्ये ८५४ मुद्दा मात्र फच्र्छौट भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।मधेसमा सबैभन्दा कम अपराध हुने जिल्लाको सूचीमा महोत्तरी छ । महोत्तरीमा यो तीन वर्षमा कुल २ हजार १०४ वटा आपराधिक मुद्दा दर्ता भएको प्रदेश प्रहरीले जनाएको छ ।

यसैगरी बारामा ३ हजार १११, रौतहटमा २ हजार २१४, सर्लाहीमा २ हजार ६०३, धनुषामा ३ हजार ६३८, सिरहामा ३ हजार १२९ र सप्तरीमा २ हजार ३६० वटा मुद्दाहरु प्रहरीमा दर्ज भएका छन् ।
प्रहरीमा दर्ता भएका अपराधका मुद्दा प्रत्येक वर्ष बढ्दो क्रममा छन् । तर मुद्दाको फर्स्यौट सङ्ख्या भने प्रत्येक वर्ष घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ ।

मुद्दा छिनोफानो नहुनुको पछाडि जनशक्ति अभाव नै मुख्य समस्या रहेको प्रहरीले जनाएको छ । जनशक्ति अभावका कारण मुद्दाहरूको अनुसन्धानमा उल्लेख्य फट्को मार्न नसकेको मधेस प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जनाए ।

उनले भने, ‘केही मुद्दाको हद म्यादका कारणले पनि छिनोफानो भएको छैन, केही प्राविधिक समस्याले पनि मुद्दा पेन्डिङमा छ ।’


सम्बन्धित समाचार