Logo

१९ चैत,मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा आमाको हत्या आरोपमा उनका छोरा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको हो ।

घरायसी विवादको कारण स्थानीय ज्ञानी माया गमालको हत्या गरेको आरोपमा २६ वर्षीय छोरा मिलन गमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत फागुन ३० गते बिहान घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा ढोका नखुलेको पाइएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको टोलीले स्थानीयको उपस्थितिमा ढोका खोली हेर्दा ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् ।

इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले घटनास्थलको मुचुलका तयार पारी प्रारम्भिक अनुसन्धान पश्चात शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएकोमा सोही दिन नै शव आफन्तले बुझी लगेका थिए । घटनाको थप अनुसन्धानको क्रममा खोज तथा स्थानीय समेतको अनुसन्धानबाट मृतकका छोरा मिलनले नै घरायसी विवादको कारण कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय पालुङले निज मिलनलाई थाहा नगरपालिका १० बाट नियन्त्रणमा लिई अन्य अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार