Logo

२४ चैत,वीरगञ्ज । सत्ता समिकरण परिवर्तन पछि फेरिएको सरकारले सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा कडाई गर्न निर्देशन दिएको छ । सीमाक्षेत्रबाट हुने तस्करीले गर्दा राजस्वमा कमी आएको बुझाई रहेको राज्यलाई सिंहदरबारमा बसेर कलम घुमाउनेहरुका कारणले राजस्व घटेको हो भन्ने चाहिँ पटक्कै लागेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य उद्देश्य लिएर कार्य शुरु गरेको भएपनि सुशासनको नाममा हुने राज्य आतंकले भने अहिले सर्वसाधारणलाई सास्ती भएको छ । गृहमन्त्रीको नेतृत्व रबि लामिछानेले सम्हालेपछि सीमाबाट हुने तस्करी शुन्यमा झार्नुपर्ने दबाव गृहप्रशासन र सुरक्षा अधिकारीहरुलाई बढेको छ ।

त्यहि बाहानामा अहिले सुरक्षा निकाय र भन्सार प्रशासनले भने सर्वसाधारणलाई सास्ती दिने गरेको गुनासो बढेको छ । सुरक्षा चेकजाँचको बाहनामा सुरक्षाकर्मीहरुले सर्वसाधारणलाई दुःख दिने गरको ब्यापक गुनासोहरु बढीरहेको छ । भन्सारबाट कुनैपनि वस्तु ओसार पसार गर्दा भन्सार शुल्क तिरेर मात्रै ल्याउनुपर्ने नियम भएपनि सीमाक्षेत्रमा घरायसी प्रयोजनका लागि ल्याउने सामानहरु व्यवहारिक रुपमा छोडिदिने गरेको थियो ।

तर, अहिले भन्सार विन्दुमा खटिएका सुरक्षाकर्मीहरुले आफ्नो काम देखाउनका लागि घरायसी प्रयोजनका लागि लिएर आउने सामानहरु समेत नियन्त्रणमा लिने र भन्सारलाई बुझाउने गरेको गुनसो बढेका छन् । सीमाक्षेत्रमा नेपाल र भारतका जनताबीच बेटीरोटीको सम्बन्ध छ । त्यसैले घरायसी प्रयोजनका लागि ल्याईने दैनिक उपभोग्य वस्तुहरु भन्सार नतिरी सहज रुपमा ल्याउने गरेका छन् ।

भन्सार भित्रैबाट ल्याईने दुईचार केजी सामानहरु व्यापारिक प्रयोजनका लागि भने ल्याएका हुदैनन् । घरायसी प्रयोजनकै लागि ल्याएका हुन्छन् । ब्यापारिक प्रयोजनका लागि ल्याउने सामानहरु त्यसरी भन्सार नै नतिरी खुलेयाम ल्याउने आँट पनि गर्दैनन् । ल्याउँदापनि ल्याउदैनन् । सुरक्षा निकाय पनि यो कुरामा जानकार छ । सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि को पेशेवर तस्कर हो, को होईन भनेर राम्ररी चिनेका पनि हुन्छन् ।

उनीहरुले पनि तस्करीमा संलग्नहरुको नाम र ठेगाना सहितको विवरणहरु राखेका हुन्छन् भन्ने सर्वसाधरणलाई पनि राम्ररी थाहा छ । तर, माथिल्लो निकायको निर्देशनको दबावलाई काम गरेजस्तो देखाउनलाई गरिने सुरक्षा चेकजाँचमा भारतीय सीमा बजारबाट सामान्य किनमेल गरेर ल्याईने सामानहरु समेत नियन्त्रणमा लिने गरेको सर्वसाधारणले दुखेसो गरेका छन् ।

खुला सीमानामा साना साना पोके तस्करहरुकै माध्यमबाट तस्करी हुने गरेको सुरक्षा निकायलाई पनि लाग्नु स्भाविक हो । तर, भन्सार र सुरक्षा निकायको ठूला तस्करहरुसँगको साँठगाँठ नभई भन्सारबाटै त्यस्ता वस्तु आउदैनन् भन्ने आम बुझाई पनि सत्य हो । खुला सीमाका कारणले फस्टाएको अवैध तस्करी नियन्त्रणका लागि निजीक्षेत्रका उद्योगी व्यावसायीहरुले पनि बारम्बार भन्ने गरेका छन् । तर, तस्करी हुने मुख्य कारण चाहिँ भन्सार ऐन, कानून र नीति रहेको उनीहरुको भनाई छ ।

भन्सार दरबन्दीमा हेरफेर नगरेसम्म र भन्सार कार्यालयका कर्मचारीहरुको असल मनसायले मात्रै तस्करी नियन्त्रण हुने उद्योगी व्यावसायीहरु बताउछन् । नेपालमा आयातमा रोक लगाईएका वस्तुहरु राजनधानी मै छ्याप्छ्याप्ती पाउनु, वैध व्यापारबाट ल्याईने वस्तुहरुको उपभोत्ता मूल्य भन्दा पनि बजारमा सस्तोमा सामान पाउनुले पनि तस्करी सरकारी च्यानलबाट भईरहेको हुनसक्ने उद्योगी व्यावसायीहरुले आशंका गरेका छन् ।

राजस्व चुहावट नियन्त्रणका लागि राजस्व अनुसन्धान विभागले भीसीटीएस कार्यान्वयनमा ल्याएको छ । बिलविजकको निरन्तर निगरानी पनि गरिरहेको छ । तर, विलबिजक शंकास्पद र तस्करी भएको आशंकाकै भरमा थोरै मात्रामा सामान आयात गर्ने व्यावसायीहरुले पनि दुख भोग्नु परेको गुनासो गरेका छन् । भन्सार प्रशासन र सुरक्षा निकाय भने तस्करी नियन्त्रण कै लागि सुरक्षा चेकजाँचमा कडाई गरेको प्रतिक्रिया दिने गरेका छन् ।

 


सम्बन्धित समाचार