Logo

२८ चैत,वीरगञ्ज । हिजरी संवतको रमदान (रमजान) महिना समापन भइरहँदा वीरगञ्जसहित देशका अन्य भागका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभर रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्रको तयारीमा लागेपछि मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो ।

हिजरी संवत्को पात्रोअनुसार रमदान आज सकिएर भोलि बिहीबार शव्वाल महिना सुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ । इस्लाम (मुस्लिम) परम्पराको मुख्य पर्व ईद मनाउन टाढाटाढा रहेका परिवारजन घर आएका छन् । भोलि मनाइने ईदका लागि सर्दाम जुटाउन मुस्लिम समुदायका नागरिक व्यस्त छन् ।

हिजरी संवतको पात्रोले आज रमदान सकिने उल्लेख गरे पनि इस्लाम परम्परामा सम्बन्धित क्षेत्रका अधिकारप्राप्त इमाम (धर्मगुरु)ले भरे साँझ द्वितीयाको चन्द्रमा देखिएको घोषणा गरेपछिमात्र भोलि ईद मनाउन बाटो खुल्ने भएको हो । इस्लाम परम्परामा चन्द्रमास ९इस्लामिक पात्रोअनुसार० तालिकाअनुसार पात्रो बन्ने चलन छ । यसैले हिजरी संवत्का महिना सामान्यतया चन्द्रमा देखिने शुक्लपक्षको द्वितीया तिथिबाट सुरु हुन्छन् ।

इमामहरूका अनुसार हिजरी संवत् परम्परामा रमदान नवौँ महिना हो । इस्लाम परम्परामा यसै महिनामा पवित्र कुरान पृथ्वीमा अवतरित भएको मानिन्छ । त्यसैले मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार, सद्आचरण र सत्कर्ममा लागि रहन अल्लाह (ईश्वर) सँग पुकारा गर्छन् । रमदान महिनाभरिको रोजा (उपवास)को उत्सवमय समापन नै ईद भएको पाका इस्लाम धर्मावलम्बी बताउँछन् ।

ईदमा हुनेखानेले गरिबका लागि दान गर्छन् । दान जसलाई इस्लाम परम्पराले ‘जकात’ भन्छ, यो इस्लाम हुनुको कर्तव्य मानिन्छ । अहिले रमदान समापन हुन लागेका बेला प्रत्येक बस्तीमा कुरान वाचन भइरहेको छ ।

ईदको चहलपहल सबैतिर भए पनि इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्ती अहिले ईदमय बनेका छन् ।


सम्बन्धित समाचार