Logo

२९ चैत,वीरगञ्ज । वीरगञ्जमा रात्री बजारको लागि भव्य तयारी गरिएको छ । इर्द र नयाँ वर्षको स्वागतका लागि आजदेखि लाग्ने वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको रात्री बजारको तयारी अन्तिम चरणमा पुगेको हो ।

रात्री बजारका लागि आवश्यक स्टलहरु र सजावटहरु भईरहेका छन् । विभिन्न झिलिमिली बत्ती तथा सजावटले आदर्शनगर क्षेत्रलाई आकर्षक बनाईएको छ । साँझ नपर्दै सुनसान हुने वीरगन्जमा रातिको समयमा पनि किनमेलको वातावरण बनाउन र वीरगञ्जको व्यापार व्यावसायलाई चलायमान बनाउनका लागि तीनदिनको रात्री बजारको आयोजना गरेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले जनाए ।

तीन दिनको लागि आयोजना हुने रात्री बजारको तयारी पूरा भएको र आज यसको उद्घघाटन गरिने ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगन्जका अध्यक्ष जयप्रकाश खेतानले जनाए । रात्री बजार हेर्न र किनमेल गर्न आउनेहरुलाई मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम तथा विभिन्न परिकारका स्टलहरु पनि राखिएको खेतानले बताए । रात्री बजारमा एकसय भन्दा बढी स्टलहरु राखिएको आयोजकले जनाएको छ ।

रात्री बजारमा विभिन्न प्रकारका खाना र ड्रिङ्कहरू, फेन्सी लुगा, जुत्ता, चप्पल, चश्मा लगायत अन्य घरायसी सम्मानहरू, हस्तकला र घरेलु उत्पादहरू, विविध संस्कृतिको प्रतिनिधित्व गर्ने सांस्कृतिक कार्यक्रमहरू, ट्याटु र मेहन्दी, फुट मसाज तथा फोटोग्राफी र सेल्फी खिच्ने ठाँउ समेत निर्माण गरिएको छ ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, फोरजी आर, वीरगञ्ज साइक्लिङ् क्लब, नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज लगायतका संस्थासँगको सहकार्यमा ३ दिने रात्री बजारको आयोजना गरिएको हो ।

यसवर्ष पनि हजारौँ सङख्यामा स्थानीय तथा भारतयि नागरिकहरुले रात्री बजारको घुमफिर तथा किनमेल गर्ने आयोजकको अनुमान छ ।


सम्बन्धित समाचार