Logo

२ बैशाख, वीरगञ्ज । भूमाफियासँगको मिलेमतोमा मालोपत कार्यालय पर्साका कर्मचारीले नक्कली कागजातका आधारमा जगरनाथपुर गाउँपालिकाका एकजना व्यक्तिलाई बिल्लीबाठ बनाइदिएका छन् ।

विगत ६० बर्षदेखि सम्पतीको हकभोग गर्दै आएका पर्सा जगरनाथपुर गाउँपालिका वडा नंं. २ का झगरुमियाँ धोविलाई मालपोतका कार्मचारी नायब सुब्वा राजेश्व प्रसाद साह तेलीले सुकुम्बासी बनाइदिएका हुन । धोविको २८ कठ्ठा जग्गा अर्कैको नाउँमा पास गरिदिएपछि उनी न्यायका लागि दिनहुँ मालपोत कार्यालय धाइरहेका छन् ।

२०२१ मा भएको नापी नक्सामा उक्त जग्गा धोवीका हजुरबुवा दिलशेर मियाँ धोविको नाउँमा कायम भएको थियो । धोविको २०२७ सालमा मृत्यु भएपछि उनका नाती झगरुमियाँ धोविले हकभोग गर्दै आएका थिए । उनले लालपूर्जा पाएदेखिनै उक्त जग्गाको तिरो तिर्दै आएका छन् ।

झगरुले आफ्नो नाउँमा भएको २८ कठ्ठा जग्गाको सक्कल लालपूर्जा र २०२१ साल देखि हाल सम्मको मालपोत तथा तिरो तिरेको रसिद बोकेर कहिले मालपोत त कहिले जिल्ला प्रशासन कार्यालय पर्सा धाउने गरेका छन् । मालपोतका नासु राजेश्वर प्रसाद साहतेलीले पुरानो लाजपूर्जा बोकेकै भरमा जग्गा फिर्ता नहुने भन्दै मालपोत कार्यालय नआउन धम्की दिने गरेको धोविको परिवारले बताए ।

जगरनाथपुर गाउँपालिका वडा नंं. २ का वडा अध्यक्ष नेपाली प्रसाद कुशवाहा र भुमाफियाको मितेमतोमा मालपोतका नायव सुब्बा राजेश्वर प्रसाद साह तेलीले दिलशेर मियाँको नाउँमा भएको जग्गाको श्रेस्ता र मोठमा रहेको रेकर्ड नष्ट गरिदिएको पीडित पक्षको आरोप छ ।

मालपोत कार्यालयमा रहेको व्यक्तिको सम्पत्तिको श्रेस्ता र मोठमा रहेको रेकर्ड नष्ट गरिदिएपछि नक्कली लिखतका आधारमा एउटा व्यक्तिको जग्गा अर्को व्यक्तिको नाउँमा रजिष्ट्रेशन पास हुने गरेको छ । पर्सा मालपोतमा धोविको जस्तो पीडा दिनहुँ लिएर आउनेको संख्या बढदै गएको पाइन्छ ।

विगत ७ बर्ष देखि एउटै फाँटमा जिम्मेवारी लिदै आएका मालपोत कार्यालय पर्साका नायब सुब्वा राजेश्वर प्रसाद साहतेलीले आफ्ना नजिकका नातेदार र चिनेजानेका आफन्तगरी करिव एक दर्जन व्यक्तिलाई मालपोत कार्यालयमा करार र दैनिक ज्यालादारीमा जागिर लगाएका छन् । ५ जना व्यक्तिलाई भने स्वयंसेवी भनेर काम गर्न दिएका छन् ।

दैनिक ज्यालादारी र स्वयंसेवी रुपमा काम गर्न राखिएका व्यक्तिहरुलाई तामेली, रजिष्ट्रेशन र मोठ फाँटको रेखदेख गर्ने जिम्मेवारी दिइएको छ । मासिक ५ हजार देखि १५ हजार सम्म पारिश्रमिक दिनेगरी काममा लगाइएका ती व्यक्तिहरुले नासु राजेश्वर प्रसाद साहतेलीको आदेश अनुसार व्यक्ति र सार्वजनिक जग्गाको श्रेस्ता नष्ट गर्ने गरेको आरोप सेवाग्राहीहरुको छ । दैनिक ज्यालादारीमा एउटै घर परिवारको तीन जना सम्म व्यक्तिलाई दैनिक ज्यालादारीमा लगाइएको छ ।

राजेश्वर प्रसाद साहतेली विरुद्ध अख्तियार र सम्पत्ति सुद्धिकरण विभागमा समेत उजुरी परेको छ । राजनीतिक र प्रशासनिक संरक्षणको आडमा तेलीले मालपोतमा सर्वसाधरण जनताको सम्पत्ति नष्ट गर्दा समेत उनीमाथि कुनै कार्वाही हुन सकेको छैन ।

भुमाफियासँगको मिलेमतोमा एउटा व्यक्तिको नाउँमा भएको सम्पत्ति अर्को व्यक्तिको नाउँमा नामसारी गर्दै आएका साहतेलीले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक, मन्त्रालयका सचिव देखि मन्त्री सम्मलाई रकम बुझाउदै आएको कारण उनी माथि कुनै कार्वाही नभएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी, सचिव गोकर्णमणी दुवाडी र विभागका महानिर्देशक विदुर प्रसाद खनाललाई नासु राजेश्वर प्रसाद साहतेलीका बारेमा पटक पटक गुनासो गर्दा समेत साहतेलीको निर्देशन र संलग्नतामा भएको अपराधको छानवीन गर्न विभागले कुनै अग्रसरता देखाएको छैन ।

मालपोत कार्यालय पर्साका नासु राजेश्वर प्रसाद साहतेलीका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा समेत दर्जन उजुरी परेका छन् । घुस लिएको देखि श्रेस्ता नष्ट गरेर एक व्यक्तिको जग्गा अर्कोको नाउँमा पास गरिदिएको उजुरी परेका छन् । तर उनी माथि कुनै कार्वाही भएको छैन । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले नासु साहका बारेमा पटक पटक गुनासो र उजुरी आएको बताए ।


सम्बन्धित समाचार