Logo

३ बैशाख । पर्साका स्थानीय तहहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा आएका छन् । जिल्लाका जीराभवानी, जगरनाथपुर, ठोरी र पटेर्वासुगौली गाँउपालिकामा चैत्र महिनादेखि यो कार्यक्रम संचालनमा आएका हुन् ।

जीराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरीले एक महिनादेखि कार्यक्रम संचालनमा ल्याइएको जनाए । कार्यक्रम अन्र्तगत एक सयजना नागरिकहरुलाई बाटो, नाला, कुलो तथा मर्मत तथा सरसफाई लगायतका काममा एक सय दिन खटाइनेछ ।

त्यस्तै पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरीले यस कार्यक्रमका लागि जनशक्ति छनौट गरिसकेको बताए । पालिकाभित्रका वडा कार्यालयका सिफारिसको आधारमा जनशक्ति छनौट भइ पालिका कार्यालयबाट सम्पूर्ण प्रकृया पूरा गरी काममा खटाइएको उनले जनाए ।

स्थानीय तहले पठाएका बेरोजगार नागरिकहरुको तथ्याङ्कको आधारमा कार्यक्रम संचालनका लागि नेपाल सरकारले सशर्त अनुदानमार्फत रकम निकासा गर्दछ । सोहीलाई मापदण्डको आधार मानी जनशक्ति परिचालन गर्ने प्रावधान छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दैनिक पाँच सय रुपँया ज्यालामा एक सय दिन नागरिकहरुले कार्य गर्नुपर्दछ ।

ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाका अनुसार सरकारले यो शिर्षकमा पठाएको अनुदानको आधारमा दैनिक ज्यालादारीको काममा खटाइएको हो । कार्यक्रम अन्तर्गत जनशक्तिलाई नाला, कुलो सरसफाई तथा बाटोघाटो मर्मतका लागि परिचालन गरिएको बताए । यी सबै काम गर्न चैत्र महिनादेखि उपयुक्त हुने भएकाले सरकारले सोही समयसीमा निर्धारण गरेको उनले बताए ।


सम्बन्धित समाचार