Logo

५ वैशाख, सिम्रौनगढ । बाराको ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढ नगरपालिकामा चैते नवमी मेला एवम् सत चण्डी महायज्ञ सुरु भएको छ । आज बिहानैदेखि कङ्काली मन्दिर परिसरमा रहेका देवस्थलहरूमा भक्तजनहरूको भीड लागेको हो ।

कङ्काली मन्दिरको सौन्दर्यीकरणसँगै मेलामा सांस्कृतिक कार्यक्रम, झुलुवा, खेल तमासा, परम्परागत नेटुवा नाँच, निशुल्क स्वास्थ्य शिविर, रासलीला, चैतावर प्रतियोगिताको व्यवस्थासँगै खानेपानी, बिजुली र सुरक्षासमेतको व्यवस्था मिलाइएको छ ।

यहाँ विशाल रानीवास दरबार र रामजानकी मन्दिर भएकाले रामजन्म उत्सवको रामनवमी मेला र विशाल सिद्धपीठ कङ्गन काली (कङ्काली) मन्दिर भएकोले प्रत्येक वर्ष चैते दशैंको नवमीको दिन मेला लाग्दै आएको हो । दुवै मेला एकै शुभ मुहूर्तमा हुने भएकाले यो मेलाको निकै महत्व छ ।

सत चण्डी महायज्ञ मेला नेपाल र भारतको बिहार राज्यकै ठूलो मेलामध्य एक हो । प्रचिनकाल देखि लाग्दै आएको मेला अभिभावकविहीन थियो । जसकारण तीन महिनासम्म लाग्ने रामनवमी मेला तीन दिनसम्म मात्र लाग्दै आएको थियो ।

स्थानीय तह अन्तर्गत नगरपालिका गठन भएपनि जनप्रतिनिधिहरूले मेला व्यवस्थापनमा चासो नदिदाँ मेलाले अभिभावकत्व नपाएको हो । तर यस वर्षदेखि वडाध्यक्षद्वय नन्दकिशोरप्रसाद जयसवाल र विवेक मेहताको सक्रियतामा मेला व्यवस्थित तरिकाबाट सञ्चालन भएको स्थानीयहरू बताउँछन् ।

वडाध्यक्ष जयसवालले आफ्नो कार्यकालमा मेला अवधि बढाएर १५ दिनसम्म पुर्याउने बताए । उनकै पहलमा यस वर्षदेखि तीन दिन लाग्ने मेला ९ दिनको पारिएको छ ।

प्राचीनकालदेखि चैते मेला लाग्दै आएको भएपनि यसको एकीन मिति थाहा नभएको वृद्ध शिवबालक महतो नुनिया बताउँछन् । पहिले तीन महीनासम्म लाग्ने यो मेला उत्तर थरुहट क्षेत्र पूर्व रौतहट र पश्चिम पचरौता कबही क्षेत्रको मुख्य बजार थियो ।

यहाँबाट वर्षायामभरिका किराना, लत्ताकपडालगायतका आवश्यक सामग्रीहरू एकमुस्ट खरीद गरेर भण्डारण गर्ने प्रचलन थियो । मेला भर्न भारतका कलकत्ता, पटना, मुजफ्फरपुर र बेतियाका व्यापारीहरू पसल थाप्न आउँथे । उनीहरूले लत्ताकपडा, गहना, भाँडाबर्तन, फर्निचर, किरानालगायत मनोरञ्जनका साधनहरू थिएटर, सर्कस, म्याजिक शो, चलचित्र, प्रदर्शनी, नौटङ्की, मौतका कुवा, झुलाहरू साथमा लिएर आउँथे ।

सन् १९६२ मा भोजपुरी साहित्यकार भिखारी ठाकुरको नौटङ्कीसमेत यो मेलामा आएको स्थानीय जगदीश महतो बताउँछन् । यसरी यो मेला ९ दिन सम्म लगाउनको लागि सत चण्डी महायज्ञको आयोजना समेत गरिएको थियो ।

गत सालको तुलनामा मेलाको अवधी ९ दिन सम्म बढेको र महायज्ञ पनि लागेकाले मुख्य नवमीको दिन मेलामा भक्तजनको घुृइँचो छ ।

मेलाको मुख्य आकर्षणको केन्द्र सदियो देखि नेटुवाको नाच रहेको छ जुनकी भाखल अनुसार महिलाहरु आफ्नो आचल पसारेर सो माथी नेटुवाको नाच नचाउने गर्छिन ।

यसका साथै यस वर्ष सत चण्डी महायज्ञमा बनाईएको प्रतिमामा सिम्रौनगढको ईतिहास झल्काउने गुरु भगताको प्रतिमामा भगताको टाउको फोडी काली माताको कंगन युक्त हात देखाईएको र बाघबाट दौनी गरेको प्रतिमा देखाईएको छ । यस्तै रानिवास मन्दिरको प्रांगणमा ९ दिने नवाह यज्ञ अठ्जाम आयोजना गरिएको छ ।


सम्बन्धित समाचार