Logo

७ वैशाख,वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले १७ औं स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरी बल नेपालको चिनीमिलस्थित आफ्नो गण विशेष कार्यक्रमको आयोजना गरि आज १७ औं स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै सशस्त्र प्रहरी बललाई व्यवस्थित, व्यवसायिक र नागरिकमैत्री बन्न निर्देशन दिए ।

उनले खुला सीमाका कारण अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षा चुनौतीपूर्ण भएपनि सशस्त्र प्रहरीले आफ्नो साधन स्रोत र जनशक्तिलाई परिचालन गरेर हरसम्भव सांगठनिक कर्तव्य पालना गरिरहेको बताए । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमा विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ड्राईपोर्ट भन्सार कार्यालयका प्रमुख डाक्टर रामप्रसाद मैनाली, वीरगन्ज आईसीपी भन्सार कार्यालयका प्रमुख, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायत जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय समाजसेवी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

विभिन्न संघसस्था सम्मानित

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर अन्तर्गतका विभिन्न क्षेत्रमा उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने संघसंस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

सशस्त्र प्रहरी कार्यालय १३ नम्बर गण हेडक्वाटर पर्साले अपरेशनल अन्तर्गत राजस्व, विपद व्यावस्थापन, सीमा अपराध, अवैध चोरी तस्करी नियन्त्रणमा उत्कृष्ट भएका सशस्त्र प्रहरी अधिकृत तथा कर्मचारीलाई सम्मान गरिएको छ ।

त्यस्तै आन्तरिक प्रशासनिक व्यावस्थापन र खेलकुद प्रतियोगितामा विजयीहरुलाई पनि सम्मान गरिएको सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठले बताए ।

यसैगरी सशस्त्र प्रहरीलाई सहयोग गर्ने विभिन्न १४ वटा संघ संस्था र व्यक्तिहरुलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी दिए ।


सम्बन्धित समाचार