२३ वैशाख,वीरगञ्ज । वीरगंजमा वैशाखको पहिलो सातादेखि विद्युत् आपूर्ति अनियमित बन्न थालेको छ ।
अत्यधिक गर्मी र लामो समयदेखि वर्षा नभएर नेपालका जलविद्युत् आयोजनाका जलाशयमा पानी कम भएपछि बिजुली उत्पादनमा कमी आएको र भारतमा लोकसभा चुनाव चलिराख्दा त्यहाँबाट विद्युत् आयात कम हुँदा वीरगंजमा विद्युत् माग धान्न समस्या भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले जनाएको छ ।
अहिले वीरगंजमा दैनिक करीब तीन सय मेगावाट विद्युतको माग रहेकामा करीब २५० मेगावाट मात्र आपूर्ति भइरहेकोले विद्युत् सेवा प्रभावित भएको वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबेले बताउनुभयो । यता नियमित विद्युत् काटिँदा नगरवासीलाई समस्या भएको छ ।
दिनभर चर्को घाममा काम गरेपश्चात फर्किएकाहरुले रातको समयमा समेत विद्युत काटिँदा सास्ती भएको गुनासो गरेका छन् ।
यस्तै बढ्दो गर्मीमा पटकपटकको विद्युत अवरोधका कारण घरभित्रै बस्नेहरुलेलाई पनि सताएको गुनासो बढेको छ ।














