Logo

८ जेठ, वीरगञ्ज । सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको छ।

यसैबीच कार्यदलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट पूर्वमन्त्रीसमेत रहेका सांसद ज्ञानेन्द्रबहादुर कार्की थपिएका छन्।

यसअघि आइतबार बसेको कार्यदलको बैठक छानबिन समितिको क्षेत्राधिकारका विषयमा सहमति हुन नसक्दा निष्कर्षविहीन भएको थियो।

पहिले गरेको सहमतिबमोजिम क्षेत्राधिकार तोक्न प्रमुख प्रतिपक्षी कांग्रेस राजी नहुँदा सहमति हुन नसकेको हो।

सत्तापक्षले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम नलिई संकटग्रस्त सहकारीसहित समग्रको छानबिन गर्नुपर्ने क्षेत्राधिकार तोक्नपर्ने अडान राखेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा रास्वपाबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसबाट कार्कीसहित सांसद जीवन परियार तथा नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला छन्।

आइतबार कार्यादेशमा सहमति नजुटेकै कारण सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेला पनि कांग्रेसका सांसदले नाराबाजी गरेका थिए। प्रधानमन्त्री प्रचण्डले विरोधकै बीच चौथोपटक संसद्‌बाट विश्वासको मत (१५७) प्राप्त गरेका छन्।


सम्बन्धित समाचार