Logo

११ जेठ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा जिल्लाको संयोजकमा हरि पन्तलाई चयन गरेको छ । पार्टीको केन्द्रीय समितिले सर्वसम्मत पन्तलाई जिल्ला संयोजकमा चयन गरिएको रास्वपा मधेश प्रदेशका महामन्त्री मनिष साहले जनाए ।

जिल्लामा रहेका प्रदेश सदस्यहरुमध्येबाट एक जना जिल्ला संयोजक र जिल्ला उप–संयोजकमा १ जना चयन गर्ने पार्टीको विधान छ । साथै जिल्ला संयोजक हुन सम्बन्धित जिल्लाको सम्पुर्ण निर्वाचित क्षेत्रीय पदाधिकारी, प्रतिनिधि र गठित पालिका पदाधिकारीहरुको मतले प्रदेश सदस्यमा निर्वाचित भएर आउनैपर्ने बाध्यकारी ब्यबस्था छ ।

सोही अनुरुप पन्त डेढ महिना अघि दुई तिहाइ भन्दा पनि बढी मत प्राप्त गर्दै बिजयी भएका थिए । राजनीतिमा प्रवेश गरेको छोटो समयमै दुई तिहाई बढी मत प्राप्त गरी प्रदेश सदस्यमा निर्वाचित पन्तले त्यसअघि कुनै पनि राजनीतिक दलको सदस्यता समेत लिएका थिएनन् ।

नवनिर्वाचित जिल्ला संयोजक पन्तले जिल्लामा पार्टीको संगठन विस्तार गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । पार्टीको लक्ष्यहरु पूरा गर्दै त्यसलाई अझ सशक्त रुपमा अघि बढाउने प्रतिवद्धता पन्तले जनाए ।
उनले भने, ‘जिल्लाका १४ वटै पालिकामा युद्ध स्तरमा पार्टीको संगठन विस्तार गरेर रास्वपाको मुल पार्टी नीति मिसन ८४ मा पर्साबाट पनि महत्वपूर्ण योगदान रहने छ ।’

होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सचिव र होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष, वीरगञ्ज उद्योग बाणिज्य संघको कार्यकारिणी समिति सदस्य र उद्योग बाणिज्य संघकै होटल पर्यटन समितिमा उप–संयोजक समेत हुन् ।


सम्बन्धित समाचार