Logo

१५ जेठ, वीरगञ्ज । पूर्व सभासद अजय द्विवेदीले असल नागरिक जागरण अभियानको थालनी गरेका छन् । गणतन्त्र दिवसको अवसर पारेर पूर्व सांसद द्विवेदीले विपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै पर्साबाट असल नागरिक जागरण अभियान सुरु गरेका हुन ।

समाजभित्र रहेका वास्तविक विृकतिलाई समाजकै अगुवाहरुबाट क्रमिकरुपमा सुधार ल्याउने उद्देश्यले बीरगन्जको माइस्थानस्थित आदर्श पुस्तकालयको भवनबाट पूर्व सांसद द्विवेदीले असल नागरिक अभियानको उद्घोष गरेका हुन ।
असल नागरिक जागरण अभियानमा राजनीतिकबाहेकका कृषि क्षेत्रका विज्ञ, औद्योगिक क्षेत्रका विज्ञ, शिक्षा क्षेत्रका एक्सपर्टसहित स्वास्थ्य क्षेत्रका जानकारहरु अभियानमा जुटेका छन् ।

मुलुकमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आए पनि जनताका समस्याहरु ज्यूँकात्यू रहेकाले सबै विसङ्गती विरुद्ध सामाजिक परिवर्तन ल्याउनका निम्ति सामाजिक जागरण अभियानको सुरुवात गरेको पूर्व सांसद द्विवेदीको तर्क छ ।

के हो असल नागरिक अभियान ?

पछिल्लो समय समाज र शासन अलगअलग बाटोमा छ । समाज र शासनबिच दूरी बढ्दै गएको छ । अर्थात् सामाजिक मुद्दाबाट शासन टाडा हुँदै गइरहेको छ । आर्थिक क्षेत्र, युवाका मुद्दा, कृषकका समस्या झनझन ओझेल पर्दै गइरहेको छ, यी समस्याहरुविरुद्ध जागरणका ल्याउन असल नागरिक जागरण अभियान अवधारणा ल्याइएको बताइन्छ ।

कारण–शासन र समाजबीच दूरी छ । त्यसकारण सदनबाट बनाइएका कानुनहरु कडा भएपनि समाजले त्यसलाई मान्ने अवस्था छैन,जसले गर्दा समाजमा परिवर्तन आउन सकिरहेको छैन । यही सामाजिक परिवर्तनका लागि असल नागरिक जागरण अभियानको थालनी गरिएको पूर्व सांसद द्विवेदीको भनाइ छ ।

किन जागरण अभियान ?

विस्तारै–विस्तारै समाजमा विकृति बढ्दै गएको छ । शासकप्रति जनताको विश्वास उठ्दै गइरहेको छ । समाज निराशावादी बन्दै गइरहेको छ ।
त्यही आशाका किरण जगाउनका लागि, समाजलाई भरोसा दिलाउनका लागि जागरण अभियान सुरु गरिएको पूर्व सांसद द्विवेदी बताउँछन् । उनका अनुसार यो जागरण अभियानले पहिलो चरणमा समाजमा रहेका विकृति र विसङ्गतीलाई चिरफार गर्नेछ ।

उनी भन्छन्, ‘ किनभने मुलुकमा छुवाछुतविरुद्धको कानुन छ, तर कार्यान्वयन हुँदैन, दाइजो प्रथाविरुद्ध कडा कानुन छ तैपनि कार्यान्वयन हुँदैन । महिला हिंसा सम्बन्धी कठोर कानुन छ तर हिंसा दिनप्रतिदिन बढ्दो छ ।’
‘त्यसकारण यी समस्याहरु कसरी दीर्घकालीनरुपमा समाजबाटै समाधान गर्न सकिन्छ, त्यसको रणनीति बनाएर त्यहीबमोजिमको नीति अवलम्बन गरिनेछ,’ उनले भने ।

जागरण अभियानको उद्घोष गर्दैै कांग्रेस पर्साका पूर्व सभापति द्विवेदीले यी सबै समस्याका समाधान हरेक क्षेत्रका विज्ञहरुको सुझाव बमोजिम गरिने योजना बनाइएको प्रष्टयाए । गणतन्त्रको दिन सकल्प लिएर सुरु भएको अभियान पहिलो चरणमा पर्सा जिल्लाभर चल्नेछ । पर्सा जिल्लामा अभियानले सफतलता प्राप्त गरिसकेपछि अन्यत्र विस्तार गर्ने अभियान रहेको असल नागरिक जागरण अभियानका अगुवा द्विवेदी बताउँछन् ।


सम्बन्धित समाचार