Logo

१७ जेठ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मकै उच्च अर्थात् ४९ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ । भारतीय मौसम विज्ञान विभागले दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको एएफपीले जनाएको छ ।

मौसम विभागका अनुसार त्यहाँको तापक्रम सामान्य अवस्थामाभन्दा नौ डिग्री सेल्सियसयले धेरै हो । तीन करोडभन्दा धेरै जनसङ्ख्या रहेको दिल्लीमा गर्मीका कारण जनजीवन कष्टकर भएको छ । सरकारी अधिकारीहरूले तापक्रम वृद्धिसँगै पानीको अभाव शुरु भएको बताएका छन् ।

दिल्ली सरकारकी जलमन्त्री आतिशीले पानीको दुरुपयोग गर्ने (खेर फाल्ने) व्यक्तिलाई दुई हजार भारतीय रुपैयाँ जरिबाना तिराउन जल बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन  दिए ।

जलमन्त्रीले पत्र लेखेर पानीको दुरुपयोगबारे अनुगमनका लागि तत्काल दुई सय जना टोली परिचालन गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

उहाँले पानी ट्याङ्की भरिएर पोखिएको, कार धुने, निर्माण व्यवसायीहरुले अवैधानिक रूपमा धारा जडान गरेको लगायतका अवस्थामा जरिबाना गर्न निर्देशन दिए । भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला वर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ ।

यस्तै उत्तर र मध्य भारतको धेरै ठाउँको अधिकतम तापक्रम ५० डिग्री सेल्सियस नाघेर अत्यधिक गर्मी बढेको छ ।


सम्बन्धित समाचार