Logo

१७ जेठ,जनकपुर । मधेस प्रदेशमा दुइ दिनसम्म ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्न लागिएको छ । प्रदेशको राजधानी जनकपुरमा जेठ १९ र २० गते ‘श्रमाधान रोजगार मेला’ को आयोजना गर्न लागिएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी हुन लागेको मेलाको बारेमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एवम मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने लक्ष्य लिइएको जनाए । उनका अनुसार नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले मेला सातै प्रदेशमा “श्रमाधान रोजगार मेला” आयोजना गर्न लागिएको हो ।

‘खासगरी मेलाले रोजगार खोज्नेहरू, रोजगारदाताहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनूकुल वातावरण सिर्जना गर्नेछ,’ उनले भने । उनी भन्छन्, ‘मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतार्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ ।’

यता श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताए ।
मधेस प्रदेशमा मेलाको आयोजना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा गर्ने कार्यतालिका छ । मेलाको उद्घाटन भने श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ ।

यो मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताहरू बीच मध्यस्थताको काम गर्नेछ । मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरुको पनि सहभागीता रहनेछ । साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको बिषयमा छलफल गरिनेछ ।

मेलामा सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ लगायत सरोकारवालाको स्टल राखिनेछ । मेलामा सहभागिताका लागि ३५ स्टल रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।


सम्बन्धित समाचार