Logo

१८ जेठ, वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत बिहिबार साँझ मधेश प्रदेश सरकारको नेतृत्व जनमतले गर्ने सहमति भएको एक विज्ञप्ति सार्वजनिक गरे । त्यो विज्ञप्तिमा अबको नयाँँ सरकार ५ दल मिलेर संयुक्तरुपमा गठन गर्ने सहमति भएको लेखिएको थियो ।

जुन हस्ताक्षर पत्रमा लेखिएको थियो–‘मधेश प्रदेशमा निर्माण भएको नयाँ राजनैतिक परिस्थितिमा प्रदेशमा रहेका भष्ट्रचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि एमाले, माओवादी केन्द्र, जनमत, लोसपा र एकीकृत समाजवादी दलको सहभागितामा नयाँ संयुक्त मधेश प्रदेश सरकार जनतम पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छ ।’

सरकारमा सहभागी भएका दलहरुकाबिच आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसंग पनि संवाद अघि बढाउने निर्णय भएको हस्ताक्षरमा लेखिएको छ ।

सार्वजनिक यो हस्ताक्षर पत्रमा ५ दलको नाम लेखिए पनि हस्ताक्षर भने एमाले, माओवादी र जनमत पार्टीको मात्रै रहेको छ । अर्थात् यहाँ तीन दलको मात्र हस्तक्षर गरिए पनि पाँँच दलको सहमतिमा नयाँ सरकार कोलाहल मच्चाइयो, जुन फर्जी रहेको पाइएको छ ।

विज्ञप्तिमा हस्ताक्षर भएका दलहरुमध्ये लोसपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले बिहीबार कुनै पनि दलसंग बैठक नगरेको जनाउ गरे । उनका अनुसार मधेश प्रदेश सरकार गठनबारे कुनै दलसंग बैठक वा छलफल पनि भएको छैन । त्यसकारण हाम्रो पार्टीको नाम लेखेर आएको सहमति एकदम गलत भएको उनी बताए ।

लोसपा मात्रै होइन एकीकृत समाजवादीको पनि धारणा त्यही आएको छ । एकीकृत समाजवादीका पार्टीतर्फबाट मधेश प्रदेशमन्त्री बेची लुङ्गेलीले पनि आफ्नो दलले नयाँ सरकार गठनबारे कुनै पनि सम्झौता नगरेको बताइन ।

उनी भन्छिन्, ‘बिहीबार कुनैपनि बैठकमा हामी सहभागी भएका छैनौ, नत हाम्रो पार्टीमा नै नयाँ सरकारबारे अन्य दलसंग छलफल भइरहेको कुरा आएको छ । हाम्रो दलको नाम बिना सहमति त्यतिकै लेखिएको छ, जुन ठीक होइन ।’

किन आयो विज्ञप्ति ?

लामो समयदेखि सरकारको नेतृत्वको सवालमा एमाले, माओवादी र जनतम गरी तीनवटै दलले आफ्नो अडानबाट टसमस भइरहेका थिएनन् । आपसी सहमति नजुटेपछि यो समीकरणका लागि सरकार बनाउने विषय पेचिलो बन्दै गइरहेको थियो ।

त्यसपछि झन यो तब पेचिलो बन्यो जब सत्तारुढ दलबाट माधव नेपालको ‘इन्ट्री’ प्रमुख प्रतिपक्षी दलको बैठकमा भयो ।प्रमुख प्रतिपक्षीको दलमा माधव नेपालको गएपछि प्रदेशमा सरकार निर्माण नहुने आँकलन गर्दै एमाले र माओवादीले गर्‍यो ।

माओवादीका एक प्रदेश सांसदका अनुसार यही आँकलनका कारण एमाले र माओवादी आफ्नो अडानबाट ब्याक हुँदै जनतम पार्टीको नेतृत्वमा सरकार गठन गर्ने तयार भयो । उनले भने,‘जुन रणनीति बमोजिम अमेरिका जान लागेका डा. राउतसंग हठात् बैठक बस्यो, त्यहीबाट जनतमको नेतृत्वमा सरकार गठन गर्ने यी तीन दलबिच आपसी सहमति भयो ।’

यी चार दलको समर्थनमा सरकार बनाउने तयारी

मुख्यमन्त्री यादव नेतृत्वको सरकारले यही २३ गते मत विश्वासको मत लिने तयारीमा छ । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । त्यही प्रावधान अनुसार यादवले २५ औं दिनमा विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवले यसपटक ४ दललाई समेटेर सरकार बनाउने रणनीति देखिन्छन् । स्रोतका अनुसार कांग्रेस, लोसपा, एकीकृत समाजवादीलाई समेटेर मुख्यमन्त्री यादवले यसपटक विश्वासको मत लिने तयारीमा छन् । यी चार दलले मुख्यमन्त्री यादवलाई समर्थन गरे, उनको सरकारलाई चाहिने आवश्यक संख्या पुग्ने देखिन्छ ।

प्रदेश सभामा जसपाका १९, कांग्रेसका २२, लोसपाका ८ र एकीकृत समाजवादीका ७ जना सांसदहरु छन् । यो भनेको ५६ जना सांसदहरुको समर्थन, जुन सरकार निर्माणका लागि आवश्यकता भन्दा बढी हो ।


सम्बन्धित समाचार