Logo

१९ जेठ,काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता रहेको बताएकी छन् ।

नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन ।

उनका अनुसार भावि पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्छ उनी भनिछन्, ‘यसले विश्वव्यापीरूपमा प्रभावशाली रहेका भाषाहरूद्वारा सीमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्नमा मद्दत गर्दछ, साथै विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं सम्वद्र्धनमा समेत योगदान पुर्‍याउँदछ ।

मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायबीच संवाद र आदानप्रदानका लागि स्थान प्रदान गरेर सांस्कृतिक विविधतालाई जोड्न र अन्तर सांस्कृतिक समझदारीलाई प्रवर्द्धन गर्ने काममा योगदान गर्न सक्दछ ।’
‘लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जिम्मेवार पत्रकारिता, सुसूचीत नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्।

प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा नेपालका विभिन्न भाषाभाषी पत्रकारका साथै भारत, बंगलादेश, पाकिस्तान, जापान, श्रीलंकालगायतका देशका पत्रकारको सहभागिता रहेको छ ।


सम्बन्धित समाचार