Logo

२० जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा संसदमा विरोध जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अमेरिकाले सन्दीपलाई भिसा नदिनु भनेको देशकै अपमान भएको बताए ।

उनले भने, ‘सन्दिप लामिछानेलाई भिसा नदिनु भनेको सन्दीप र नेपाली नागरिकको मात्र होइन यो सिंगो नेपालकै अपमान हो ।’ उनले भने, ‘उच्च अदालतले निर्देश घोषणा गरेको मान्छेलाई भिसा लाग्दैन ! एक देशले अर्को देशको अस्थित्व स्वीकार गर्ने भनेको छ । के आज हाम्रो सम्बन्ध स्थापित भयो ? एउटा राष्ट्रिय खेलाडीलाई भिसा दिइएन !

यही जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न तयार सन्दीप लामिछानेको भिसा अमेरिकाले दोस्रो पटक पनि रिजेक्ट गरिदिएको थियो ।

बिहीबार अपराह्न ४ बजे अन्तरवार्ताका लागि महाराजगन्जमा बोलाइएका सन्दीपलाई एक महिनाभित्र दोस्रो पटक अमेरिकी दूतावासले भिसा दिन नमानेको हो । यसअघि जेठ ९ मा दूतावासले सन्दीपलाई भिसा दिन मानेको थिएन । पहिलो पटक भिसा दिन नमानेपछि सरकारको उच्च तहबाट अमेरिकी दूतावासमा पहल गरिएको थियो ।

तर दूतावासले कुनै कारण नखुलाई दोस्रो पटक पनि सन्दीपको नाममा भिसा जारी गर्न नमानेको हो । सन्दीपलाई भिसाका लागि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले समेत पहल गरेका थिए ।

श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाईसमेत आग्रह गरेर दूतावासमा अनुरोध गरिदिन भनेका थिए । खेलकुद मन्त्री श्रेष्ठका अनुसार सरकारले सन्दीपको भिसाका लागि ‘भिसा नोट’समेत सरकारले अमेरिकी दूतावासमा पठाएको थियो। तर सन्दीपले भिसा पाएनन् ।


सम्बन्धित समाचार