Logo

२० जेठ, वीरगञ्ज । मधेश प्रदेश सरकार गठनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तत्कालका लागि कुनै पनि दललाई नसघाउँने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकले मधेश प्रदेश सरकारको सवालमा तत्कालको तटस्थ बस्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जनाए । सरकार गठनका लागि आज लोसपाको बसेको केन्द्रीय समितिको बैठकले तत्कालै कुनै पनि गठबन्धनलाई नसघाउने निर्णय गरेको वरिष्ठ उपाध्यक्ष एवम मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताए ।

उनका अनुसार आज भएको पार्टीको केन्द्रीय समितिको बैठकले तत्काल कुनै पनि गठबन्धनमा नजाने विषयमा छलफल भएको हो । उनी भन्छन्,‘हामी सबै उपस्थित पदाधिकारीहरुको बैठक बस्यो, त्यसपछि हामी गहन छलफल ग¥यौं । त्यस अनुसार उचित समयमा आवश्यकता अनुसारको निर्णय लिने आपसी सम्झदारी बन्यो ।’

तर यही गठबन्धनलाई सघाउँने भने कुनै पनि निर्णय नभएको उनको भनाइ छ । उनले भने, ‘अन्तिम अवस्थामा उचित निर्णय लिने सहमति भएको छ, जसको एकल अधिकार अध्यक्षलाई दिइएको छ । अब जे निर्णय लिने हो उहाँले एकलै लिन सक्नु हुनेछ ।’

एमाले र माओवादीले जनमतको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेर आफ्नो कित्तामा लोसपा र एकीकृत समाजवादीलाई ल्याउने पहल गरिरहेको थियो । तर आज बसेको बैठकले भने सत्तारुढ दलबाट आएको प्रस्तावलाई लोसपाले इन्कार गरेको छ ।

जनतमको नेतृत्वमा हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुखले बुझाउने तयारी थियो । तर लोसपा ‘ब्याक’ भएपछि जनमत नेतृत्वमा ४ दल मिलेर सरकार गठन गर्ने अवस्था सकसपूर्ण हुने अंकगणितीय हिसाब छ ।


सम्बन्धित समाचार