Logo

२१ जेठ, वीरगञ्ज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारविरुद्ध बुझाउने हस्ताक्षर पत्रमा विपक्षी दलहरु सहमत नहुँदा स्थगन भएको छ ।

केन्द्रको सत्तारुढ दलहरुले संयुक्तमा प्रदेशमा मुख्यमन्त्री यादव नेतृत्वको सरकारविरुद्ध प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षर संकलन गरेर बुझाउने तयारी गरेको थियो ।
विश्वासको मत लिनु अगाडि नै बहुमत सिद्ध गरेर आफ्नो नेतृत्वमा सरकार बनाउने विपक्षी दलहरुको योजना विफल भएको छ ।

एमाले, माओवादी र जनमतसहितका विपक्षी दलहरुले आइतबार साँझसम्म मुख्यमन्त्री यादवको सरकार अपदस्थ गर्नका लागि बुझाउने भनिएको हस्ताक्षर पत्र आजसम्म बुझाइएको छैन ।

मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोज यादवले कानुनी कारणले हस्ताक्षर पत्र नबुझाइएको बताए । उनले भने,‘ हामी विपक्षी दलका नेताहरुको हस्ताक्षर संकलन गरिसकेका थियौं, त्यो बुझाउने तयारी अन्तिम चरणमा थियो । तर त्यसअघि हामी यसको कानुनी विषयबारे जानकारी लिऔं, जहाँबाट तत्काल यो कदम नउठाउन सुझाव आयो । अनि हामी पनि रोक्यौं ।’ मूलतः यहीकारणले आज बुझाउने भनएिको हस्ताक्षर पत्र रोकिएको उनको दाबी छ ।

यसकारण रोकियो हस्ताक्षर पत्र ?

विपक्षी दलहरुले आइतबार बुझाउने भनिएको हस्ताक्षर पत्रमा तालमेल नहुँदा रोकिएको हो । विपक्षी दलहरुले ६३ जना प्रदेश सांसदहरुको हस्ताक्षर संकलन भइसकेको जनाउँ गर्दै साँझसम्म प्रदेश प्रमुखलाई बुझाउने बताइरहेको थियो ।

हस्ताक्षर पत्रमा लोसपा र एकीकृत समाजवादीसहितका दलहरुबाट संकलन भएको ६३ जना सांसदहरुको समर्थन बुझाउने विपक्षी दलहरुका नेताहरु बताइरहेका थिए । तर विपक्षी दलहरु एमाले, माओवादी, जनमतका नेताहरुबाहेक अहिलेसम्म लोसपा र एकीकृत समाजवादीका सांसदहरुले कुनैपनि कुनै हस्ताक्षर नगरेको पाइएको छ ।

यी दलहरुले नै हस्ताक्षर नगरेपछि बहुमत नपुग्ने भएको हुँदा एमाले–माओवादीले हस्ताक्षर पत्र बुझाउने अभियानबाट ‘ब्याक’ भएको एकीकृत समाजवादीका एक प्रदेश सांसद बताउँछन् ।

एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता गोविन्द न्यौपानेले अहिलेसम्म आफनो दलले कुनै हस्ताक्षर नगरेको बताए । उनले भने, ‘अहिलेसम्म हामी सरकारमै छौं, हाम्रो पार्टीबाट छोडने निर्देशन पनि आएको छैन । अनि हामी किन हस्ताक्षर गरेर कसैलाई दिन्छौं । त्यसकारण यो झुट हो, हाम्रो पार्टीबाट कुनै हस्ताक्षर भएका छैनन् ।’

यता अर्को सरकारमा सहभागी हुने भनिएका लोसपाका नेताहरुले पनि आफू कुनै किसिमको हस्ताक्षर नगरेको जनाउ गरेका छन् ।

लोसपा प्रदेश सांसद रानी शर्मा तिवारीले आफ्नो पार्टीबाट कुनै पनि पत्र हस्ताक्षर नभएको बताइन । उनका अनुसार हाम्रो पार्टीले जे भन्छ, हामी त्यही गर्ने हो । उनले भनिन्– तर पार्टीबाट पनि अहिलेसम्म त्यस्तो कुनै निर्देशन आएको छैन, हामी पनि कुनै हस्ताक्षर गरेका छैनौं ।

मुख्यमन्त्री यादवले प्रदेश सभा सचिवालयमा २३ जेठमा विश्वासको मत लिनेबारे पत्र लेखेर जानकारी गराइसकेको सचिवालयले जनाएको छ ।


सम्बन्धित समाचार