Logo

२७ जेठ,काठमाडौँ । पत्रकारका विभिन्न संघ संगठनले सदस्यता विवाद देखाएर पत्रकार महासंघले निर्वाचनलाई अन्योलतर्फ धकेलेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको निर्वाचन तोकिएको समयमा सम्पन्न गरी वैधानिकता जोगाउन ४ बुँदे मागसमेत पेस गरेका छन् ।

निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेसँगै महासंघलाई अमूक संगठनको छाया संस्थामा परिणत गर्न चाहेको प्रमाणित भएको यी ६ संगठनको ठहर छ ।

सुर्खेत साधारणसभाबाट महासंघलाई वास्तविक पत्रकारको संस्थाको रूपमा विकास गर्ने उद्देश्यका साथ शुद्धीकरण समिति गठन गरी १५ बुँदे शुद्धीकरण मापदण्ड सार्वजनिक गरिएकोमा महासंघले आफ्नो कर्तव्य पूरा नगरेको कारण अहिलेको परिस्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

असार दोस्रो साताभित्र चुनाव गराउने प्रतिबद्धता कार्यान्वयनको माग राख्दै ६ संगठनका नेतृत्वले शुद्धीकरण मापदण्ड, जिल्ला र प्रदेशको सर्वसहमति, संगठनका अध्यक्षहरूबीच भएको भद्र सहमतिसहित कार्यदलको प्रतिवेदनको आधारमा सक्रिय पत्रकार नछुट्ने गरी टुंगो लगाउनुपर्ने, २०८१ जेठ ३२ गतेभित्र मतदाताको नामावली निर्वाचन समितिमार्फत सार्वजनिक गरिनुपर्ने उनीहरूले बताएका छन् ।

पत्रकार महासंघको गरिमा, गौरव र जिम्मेवारीलाई कायम राख्दै यसको कानूनी वैधानिकता कायम निर्वाचन सम्पन्न गर्न आवश्यक सहमतिको वातावरण बनाउन र त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता विज्ञप्तिमा जनाइएको छ ।

 


सम्बन्धित समाचार