Logo

३ साउन,काठमाडौँ ।  नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेले नेपालका वर्तमान प्रधानमन्त्री केपी ओलीसँग भारतलाई सहकार्य गर्न कठिन हुने विश्लेषण गरेका छन् । भारतको अंग्रेजी अखबार द इकोनोमिक टाइम्समा एक लेख लेख्दै उनले आफू नेपालमा राजदूत छँदा पनि ओलीसँग काम गर्दाको अनुभव सन्तोषजनक नभएको बताएका छन् ।

रञ्जित रे नेपालमा संविधान जारी हुने बेला र भारतले अघोषित नाकाबन्दी गरेको बेला नेपालका लागि भारतीय राजदूत थिए । २०७० सालमा संविधानसभाको निर्वाचन हुनुभन्दा अढाइ महिना अघि नेपालमा राजदूत भएर आएका उनी २०७३ को फागुनसम्म नेपालमै थिए ।

यो अवधिमा नेपालमा संविधान जारी भएको थियो । उनकै कार्यकालमा नेपालमा ओली प्रधानमन्त्री बने, भारतले नाकाबन्दी लगायो र नेपालले नाकाबन्दीको बलियोसँग सामना गरेको थियो । उनी फर्किंदासम्म केपी ओलीको सरकार ढलिसकेको थियो । उनी फर्किंदा प्रचण्ड प्रधानमन्त्री थिए ।

आफू नेपालमा रहँदा प्रधानमन्त्री ओलीने नेपालमा भारतविरोधी भावनालाई निकै कुशलतापूर्वक प्रयोग गरेर आफू राजनीतिमा शक्तिशाली भएको विश्लेषण गर्दै रेले भारतलाई नेपालमा ओली प्रधानमन्त्री भएका बेला कठिनाइ हुने विश्लेषण गरेका छन् ।

ओलीकै पालामा नेपालले चीनसँग, व्यापारिक, पारवहन लगायतका सम्झौता गरेको उल्लेख गर्दै उनले अहिलेको ओली सरकार पनि चीनतर्फ नजिकिन सक्ने आशंका व्यक्त गरेका छन् । उनले ओलीकै पालामा उठेको भारतसँगको सीमा विवादलाई पनि भारतका लागि झट्काको रुपमा उल्लेख गरेका छन् ।

यद्यपि सरकारमा सहभागी दलहरुमध्ये नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएकोले कांग्रेसले ओलीलाई एकलौटी निर्णय गर्नबाट रोक्ने आशा समेत उनले व्यक्त गरेका छन् । उनले पूर्ण बामपन्थी गठबन्धनभन्दा कांग्रेस सम्मिलित गठबन्धन भारतका लागि अनुकूल हुने समेत बताएका छन् ।

नेपालले संविधान जारी गर्दा सरकारले चर्को विरोध गरेको थियो । त्यतिबेला भारतको असन्तुष्टि आधिकारिक रुपमा नेपालका नेताहरुसम्म लैजाने माध्यम उनै रञ्जित रे थिए । त्यतिबेला तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर पनि नेपाली नेताहरुलाई दबाब दिन आएका थिए । जयशंकर अहिले विदेशमन्त्री छन् ।

नेपालको संविधानको विषयमा उच्च चासो राख्ने र नेपालको संविधानलाई भारत अनुकूल बनाउन निकै प्रयास समेत गरेका रेले आफ्नो लेखमा कांग्रेस–एमालेले सहमति गरेका निश्चित बुँदामा मात्र संविधान संशोधन गर्न कठिन हुने बताएका छन् । संविधानका केही कुराहरु संशोधन गर्ने प्रयास गर्दा अन्य धेरै संविधानका विषयहरु पनि संशोधन गर्न माग उठ्ने उनको विश्लेषण छ ।

नेपालमा केपी ओली निकै शक्तिशाली रुपमा उदाएको उल्लेख गर्दै रेले ओलीले साना बाम दलहरुलाई एकताबद्ध गर्न सक्ने हो भने एमाले सबैभन्दा बलियो शक्तिको रुपमा उदाउने विश्लेषण गरेका छन् ।

उमेरले धेरै पाका शेरबहादुर देउवाले नेतृत्व गरेको नेपाली कांग्रेस ठूलो दल भएर पनि आन्तरिक रुपमा विभाजित अवस्थामा रहेको उल्लेख गर्दै उनले कांग्रेसमा युवा नेताहरुलाई अवसर नदिने अहिलेको अवस्था कायमै रहेका कांग्रेसले शक्ति गुमाउने र त्यो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ शक्तिले हासिल गर्ने विश्लेषण गरेका छन् ।


सम्बन्धित समाचार