Logo

१६ साउन,वीरगञ्ज । यही साता पर्साको छिपहरमाइ गाउँपालिकामा एक जनाको शव बरामद भयो । आफ्नै घरमा झुण्डिएको अवस्थामा छिपहरमाइ गाउँपालिका वडा नम्बरमा विवाहित महिला झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

छिपहरमाइ गाउँपालिका निवासी खुश्बु यादवले झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय पोखरियाले जनायो । घरायसी तनावका कारण खुश्बुले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमान वितेको पीडामा खुश्बुले आत्महत्या गरेको परिवारिकजनको प्रहरीमा बयान छ ।

यसैगरी एक महिना बीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थितबाट एक जना पुरुषको शव फेला परेको थियो । मृत्युको कारण खुल्न नसकेपनि विष सेवन गरी आत्महत्या गरेको प्रहरीको प्रारमिभक अनुसन्धानबाट खुलेको थियो । मृतकको नाम र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन ।

यी दुइ वटा आत्महत्या घटनाहरु त केही उदाहरण मात्रै हुन । प्रहरीको तथ्यांक अनुसार पर्सामा आत्महत्याका घटनामा कमी आएको छैन ।

कति आत्महत्याका घटना ?

पछिल्लो तीन वर्षमा पर्सामा चार सय भन्दा बढी आत्महत्याका घटना भएको प्रहरी तथ्यांक छ । खासगरी झुण्डिएर र विष सेवन गरी आत्महत्याका घटनाहरु भइरहेको प्रहरी रेकर्ड छ ।
आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्ममा ४०७ जनाले आत्महत्या गरेको प्रहरी विवरण छ ।

प्रहरीका अनुसार आव ०७८/०७९ मा १७३, ०७९/०८० मा ११६ र ०८००८१ म ११८ जनाले आत्महत्या गरेका छन् । जसमध्ये महिलाले मात्रै ११२ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । यसैगरी बालकतर्फमा भने २४ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।

बालिकातर्फ भने १२५ जनाले आत्महत्या गरेको प्रहरी अभिलेख छ । प्रहरीमा पछिल्लो तीन वर्षमा आत्महत्याका ३३४ वटा मुद्दा दर्ता भएको तथ्यांक छ ।

किन आत्महत्याका घटना ?

पर्सा प्रहरीका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगले आत्महत्या जस्ता घटनाहरुमा कमी आउन सकेको छैन । पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले सामाजिक सञ्जालको बढ्दो प्रयोगले आत्महत्या जस्ता घटनाहरु मौलाउदै गएको बताए ।
योसंगै आर्थिक समस्या तथा घरायसी तनावका कारण मान्छेले आत्महत्या गर्न थालेको पाइएको उनी बताउँछन् । आत्महत्या रोकथामका लागि प्रहरीले जनचेतना जगाउने काम गर्दै आइरहेको उनको दाबी छ ।

तर समाजले पनि यो समस्या निराकरणतर्फ निगरानी बढाउन पर्ने जरुरी रहेको उनको सुझाव छ ।


सम्बन्धित समाचार