Logo

फाइल तस्बिर

१७ साउन,वीरगञ्ज । दुई दिन अगाडी वीरगञ्जबाट एक हजार दरका २ वटा नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गर्‍यो । महानगरपालिकाको वडा नम्बर १६ बाट भारत बिहार प्रान्त बेतीया ग्राम बैरिया–३ बस्ने अजाद आलमलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको हो ।

प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उनलाई नक्कली नोट सहित पक्राउ गरेको हो । यो घटनाको ठिक ३ दिन अगाडी रौतहटबाट पनि एक हजार दरकै १३ थान नक्कली नेपाली नोटसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लियो ।

जिल्लाको चन्द्रनिगाहपुरबाट प्रहरीले नजरे आलम र इमामुल हक दर्जीलाई नक्कली नोटसहित पक्राउ गर्‍यो ।
मधेश प्रदेश ०२–०२१ प ६३६८ नम्बरको सुपर स्पेलेण्डर मोटरसाइकलमा सवार उनीहरुले सिट कभरमा नेपाली नक्कली नोट ओसारपसार गरिरहेको सूचनाको आधारमा दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कति नक्कली नोट बरामद ?
यी दुइ जना त पछिल्ला उदाहरण मात्र हुन् । प्रहरीको तथ्यांकमा मधेश प्रदेशमा खोटाचलन (नक्कली नोट) को कारोबारको ग्राफ बढ्दो छ । गत वर्ष प्रदेशका ८ वटै जिल्लाबाट नेपाली र भारतीय नक्कली नोटसमेत बरामद गरेको प्रहरी तथ्यांक छ ।

प्रहरीले उपलब्ध गराएको एक तथ्यांक अनुसार प्रदेशका ती ८वटै जिल्लाभर गरी झण्डै ३६ लाख रुपैयाँ नक्कली नेपाली नोट बरामद भएको छ । प्रहरीका अनुसार एक वर्षमा ३५ लाख ८६ हजार ३२० रुपैँया बराबरका नक्कली नेपाली नोट बरामद भएको छ । यसैगरी यही अवधिमा १५ हजार २२० मूल्य बराबरका भारतीय रुपैँया बरामद गरेको प्रहरी बताउँछ ।

कुन जिल्लाबाट कति ?

प्रदेशका सबै जिल्लाहरुबाट प्रहरीले धमाधम नेपाली नक्कली नोट बरामद गर्न थालेका छन् । मुख्यगरी प्रदेशका ४ वटा जिल्लाबाट नक्कली नेपाली नोट बरामद भएको प्रहरी अभिलेख छ ।
प्रहरी तथ्यांक अनुसार सबैभन्दा बढी रौतहट जिल्लाबाट प्रहरीले २० लाख १६ हजार रुपैँया बरामद गरेको छ भने त्यसपछिको बढी दोस्रो जिल्ला बाराबाट १३ लाख ८९ हजार ५०० रुपैँया बरामद गरेको छ ।

त्यसपछि क्रमश : पर्साबाट १ लाख ६४ हजार, सर्लाहीमा १६ हजार ८२० रुपैँया बरामद भएको प्रहरीको आँकडा छ ।

सोही एक वर्षको अवधिमा प्रहरीले ३ जिल्लाबाट भारतीय रुपैँया बरामद गरेको प्रहरीको विवरण छ । प्रहरीले सर्लाही, रौतहट र बारा जिल्लाबाट भारतीय रुपैँया बरामद गरेको जनायो । प्रहरीका अनुसार सर्लाहीबाट १३ हजार ३२०, बाराबाट १ हजार र रौतहटबाट ९०० भारतीय रुपैँया बरामद भएको हो ।

कति पक्राउ ?

गत वर्ष नक्कली नेपाली नोटसहित प्रदेशभरबाट ३८ जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा एक जना महिला समेत रहेका छन् । नक्कली नोटको कारोबारमा पक्राउ पर्नेमा रौतहट जिल्ला अग्रस्थानमा परेको छ । उक्त जिल्लाबाट मात्र प्रहरीले १६ जनालाई पक्राउ गरेको विवरण छ ।

त्यसपछिको सुचिमा बारा जिल्ला छ । त्यहाँबाट समेत प्रहरीले १२ जनालाई पक्राउ गरेको जनाएको छ । यसैगरी सर्लाहीबाट ६ जना, पर्साबाट १ जना महिलासहित ४ जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

कति जनामाथि मुद्दा ?

प्रहरीले त्यो वर्ष पक्राउ परेका एक जना महिलासहित ३८ जनामध्ये केहि माथि भने मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार प्रदेशभरबाट १५ जनामाथि मुद्दा दर्ता भएको छ । यसरी मुद्दा दर्ता हुनेहरुको सूचिमा बारा जिल्ला अगाडी छ ।

यो जिल्लामा ५ जनामाथि प्रहरीले मुद्दा दर्ता गरेको तथ्यांक छ । प्रहरीका अनुसार सर्लाहीमा ४ जनामाथि मुद्दा दायर भएको छ । यस्तै रौतहटमा ४, पर्सा २ जनामाथि मुद्दा दायर गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

के भन्छ प्रहरी ?
मधेशमा बरामद भइरहेको नेपाली नक्कली नोटले आफूहरुलाई पनि झस्काइदिएको प्रदेश प्रहरीको भनाइ छ । प्रदेश प्रहरी प्रवक्त सुबासचन्द्र बोहराले मधेशमा पछिल्लो समय नेपाली नक्कली नोट बढी बरामद भइरहेको स्वीकारे ।

उनले भने, ‘पछिल्लो समय बरामद भइरहेको नेपाली नक्कली नोटलाइ लिएर हामी पनि चिन्तित भएका छौं, यसको बारेमा अध्ययन गर्न विशेष टोलीले नै परिचालन गरिएको छ । खुल्ला सीमाका कारण नेपाली नक्कली नोट बरामद भइरहेको बुझिएको छ ।’

तर यसको नियन्त्रणका लागि हामीले बैग्लै रणनीति बनाएर काम गरिरहेको उनको भनाइ छ ।


सम्बन्धित समाचार