Logo

फाइल तस्बिर

१९ साउन,वीरगञ्ज । गएको २२ जेठमा पर्सा प्रहरीले बीरगन्जबाट ५ लाख ९० हजार स्रोत नखुलेका रकमसहित एक जना भारतीयलाई नियन्त्रणमा लियो । वीरगञ्जको प्रतिमाचोकबाट विहार रक्सौल निवासी बब्लु रौनियारलाई नियन्त्रणमा लियो ।

शंकास्पद रुपमा हिडिरहेको अवस्थामा रोकेर जाँच गर्दा प्रहरीले उनको साथबाट स्रोत नखुलेको रकम बरामद गरेको जनायो । जेठमा मात्र नभइ, बैशाख २४ गते पनि पर्सा प्रहरीले ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गर्‍यो । वीरगञ्जको गण्डकबाट प्रहरीले जगरनाथपुरका रवि कुमार पटेललाइ नियन्त्रणमा लियो ।

विशेष सूचनाको आधारमा उनलाई रोकेर जाँच गर्दा प्रहरीले उनको साथबाट १३ लाख १५ हजार रुपैयाँ फेला पार्‍यो । बरामद रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि चलायो ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका यी दुइजना त पछिल्ला उदाहरण मात्रै हुन् । पर्सा प्रहरीको तीन वर्षे तथ्यांकमा स्रोत नखुलेको रकमसहित पक्राउ परेकाहरुको सूचि लामै छ । प्रहरीले ५५ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्ममा प्रहरीले ५५ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार ०७८/०७९ मा २२ जना, ०७९/०८० मा २२ जना र ०८०/०८१ मा ११ जना गरी ५५ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकाहरुमध्ये केहिमाथि भने मुद्दा समेत दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक प्रवक्ता दिपक भारतीले बताए ।

उनका अनुसार ३८ जनामाथि भने बित्तिय कारोबार ऐन (हुण्डी) शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक कारबाही चलाइएको छ । मुद्दा दर्ता भएकाहरुमध्ये सबैभन्दा बढी आर्थिक वर्ष ०७९/०८० मा रहेका छन् । यो वर्ष १७ जना उपर मुद्दा दर्ता चलेको छ । त्यसपछि ०७८/०७९ मा १४ जना र ०८०/ ०८१ मा भने जम्मा ७ जनामाथि मुद्दा दायर गरिएको प्रवक्ता भारतीले जनाए ।

कति रकम बरामद ?

वितेको तीन वर्षको अवधिमा चार करोड भन्दा बढी हुण्डीको रकम बरामद भएको प्रहरीको तथ्यांकले देखाइरहेको छ । अर्थात् प्रहरीले यो अवधिभर चार करोड २० लाख ४ हजार ६२० नेपाली रुपैँया बरामद गरेको विवरण छ ।

आर्थिक वर्ष ०७८/०७९ मा १ करोड ६५ लाख १३ हजार ६२०, ०७९/०८० मा एक करोड ९३ लाख ६६ हजार ३०० र ०८०/०८१ मा ६१ लाख २४ हजार ७०० नेपाली रुपैँया बरामद भएको प्रहरी आँकडा छ । वितेको वर्ष ०८०/०८१ मा ९ हजार ८०० भारतीय रुपैँया समेत बरामद भएको प्रहरी विवरणमा उल्लेख छ ।

किन नियन्त्रण भन्दा बाहिर ?

प्रहरीले हुण्डी कारोबारीलाई रोक्न निर्मम भएर लागि परेको जनाएको छ । प्रहरी प्रवक्ता दिपक भारतीले जिल्लामा हुण्डी कारोबारीलाई जरैदेखि निर्मुल पार्न प्रहरी सक्रिय भइ लागेको बताए ।

उनले भने, ‘खुल्ला सिमा छ, विभिन्न नाकाहरुमा समेत बोर्डर खुल्ला हुँदा पूरै रोक्न सकिएको छैन, तर यसको मतलब यो हैनकी प्रहरी सक्रिय छैन ।’ उनका अनुसार खुल्ला सिमाका बाबजुद नाकाहरुमा कडा निगरानी भइरहेको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेहरुमा बढी भरिया हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘पक्राउ परेकाहरुमध्ये धेरैजसो भरिया नै रहेको देखिएको छ । सिमापछि अर्को देश भएकाले पनि केहि समस्याहरु आउछँ । सबै बुझेर गर्नुपर्ने हुन्छ ।’


सम्बन्धित समाचार