Logo

२३ साउन,काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी सरकार खोज्दै नहिड्ने बताएका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकार भन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिड्ने बताएका हुन्। उनले अब पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रीत रहने बताए।

पार्टीभित्रका असन्तुष्टिहरुलाई मिलाएर फुट र विभाजनबाट रोक्ने भन्दै प्रचण्डले पार्टी अब फुटतिर नभइ जुटतिर केन्द्रीत हुने स्पष्ट पारे। उनले माओवादीबाट अलग भएकाहरु छिटै आफ्नो नेतृत्वमा माओवादीमा एकतावद्ध हुन लागेको जानकारी दिए।

प्रचण्डले आफु नेतृत्वको सरकारले गरेको कामका साथै अहिलेको देशको अवस्थाका बारेमा जनतालाई जानकारी दिन आफै मेचि–काली अभियान सुरु गर्ने तयारीमा रहेको धारणा राखे। सरकारबाट बाहिरिएसँगै कार्यकर्तालाई खोज्ने र जनतामा जाने राम्रो अवसर प्राप्त भएको उनले बताए। प्रचण्डले आफू नेतृत्वले धेरै राम्रा काम गर्न खोजेकाले प्रतिक्रियावादीहरु डराएर सरकारबाट हटाएको टिप्पणी समेत गरे।

त्यस्तै उनले अहिलेको गठबन्धन डरमा आधारित, भ्रष्टाचारीलाई बचाउने र जनताप्रति प्रतिगमनको हतियार चलाउन उन्मुख रहेको आरोप लगाए। अहिले संविधान संशोधनको तयारी भइरहेको भन्दै उहाले विभिन्न परिवर्तनबाट प्राप्त उपलब्धिलाई खोस्ने प्रयास गरे जनताले सफल हुन नदिने जिकिर गरे।


सम्बन्धित समाचार