Logo

२६ साउन,काठमाडौं । मधेश प्रदेशसहित अन्य पाँच प्रदेशमा राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्लोज क्याम्प जारी छ । मधेशसहित सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा रास्वपाको ‘क्लोज क्याम्प’ जारी रहेको बताइएको छ ।

पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले आयोजना गरेको ‘क्लोज क्याम्प’को आज दोस्रो दिन हो। रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरूका लागि काठमाडौँमा दुई दिने ‘क्लोज क्याम्प’ गरेको थियो।

मधेशमा ८०, सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६० र कर्णालीमा ३० जना सहभागी ‘क्लोज क्याम्प’मा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए। ‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन्। उनीहरुलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गरेका छन्।

रास्वपाले सहरीकरणका लागि मधेशमा मनिष झा र कामिनी चौधरी, सुदूरपश्चिममा दीपक बोहरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु तथा कर्णालीमा हरि ढकाल र विनीता कठायतलाई पठाएको छ।

प्रवक्ता झाका अनुसार बागमतीको ‘क्लोज क्याम्प’ शुक्रबार सकियो भने कोशीमा आजबाट हुँदै छ। कोशीमा निशा डाँगी र उपेन्द्र पाण्डेले सहजीकरणको जिम्मेवारी लिएका छन्।

कार्यवहाक प्रवक्ता झाका अनुसार ‘क्लोज क्याम्प’मा विचार, सङ्गठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा भएको छलफलको निष्कर्ष एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने छ। रास्वपा केन्द्रले विधान संशोधनको सुझावसमेत मागेकाले ‘क्लोज क्याम्प’मा त्यसबारे पनि छलफल भइरहेको छ।

‘क्लोज क्यामबाट आएका सुझाव केन्द्रीय समितिमा प्रस्तुत गरेर पार्टी विस्तार र सुदृढीकरणको योजना बनाउँछौँ’ सहप्रवक्ता प्रतिभा रावलले भनिन्– ‘राष्ट्रिय भेला र महाधिवेशनको मिति प्रस्ताव भइसकेकाले अभियानकै रुपमा पार्टी कामलाई उठाउन ‘क्लोज क्याम्प’ गरेका हौँ।’


सम्बन्धित समाचार