Logo

२६ साउन,वीरगञ्ज । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले पर्सा जिल्लामा विकासको लहर चल्ने बताएका छन् । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएका कानुन मन्त्री चौरसियाको स्वागत तथा सम्मानका लागि कांग्रेस पर्साले राखेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जिल्लाबाट संघ र प्रदेशमा गरी धेरै जना मन्त्री बनेकोले जिल्लाको बिकासमा कुनै कसर बाँकी नराखिने उनले बताए । उनका अनुसार आफू कानुन मन्त्री भएपनि जिल्लाको विकास निर्माणका सवालमा अरु मन्त्रालयसंग समन्वय गरी काम गरिन्छ ।

उनले भने, ‘म कानुन मन्त्री छु, यो मन्त्रालय भनेको सबै मन्त्रीज्यूहरुको साँचो भएको मन्त्रालय हो ।  सबै मन्त्रालयका काम कानुन मन्त्रीसंग पर्छ । त्यसकारण म पनि जिल्लाको विकासका लागि अरु मन्त्रीज्यूहरुलाई बजेट छुट्याउन पहलकदमी गर्नेछु ।’

यही कारणले विकास निर्माणका लागि चिन्ता लिइरहनुपर्ने जरुरी नरहेको उनको भनाइ छ । उनका अनुसार जिल्लामा विकास निर्माणको सवालमा बाढी पहिरो आउनेछ । देशमा निर्वाचन प्रणालीदेखि धेरै विषयमा कानुनमा सुधार ल्याउनुपर्ने जरुरी रहेको उनी बताउँछन् ।

बलात्कार जस्ता घटनामा गम्भीरको अध्ययन गरेर त्यसबमोजिम कानुन कारबाही चलाउन खाले कानुनको बारेमा बहस चलिरहेको उनको प्रष्टोक्ति छ । आफ्नो मन्त्रालय संवेदनशील र चुनौतीपूर्ण रहेकोले जिल्लाको शिर उच्च हुने हुने गरी काम गर्ने जिकिर गरेका थिए ।

कार्यक्रममा सहभागी प्रदेशका कृषि मन्त्री जनार्दन सिह क्षेत्रीले प्रदेशको कृषि विकासका लागि आफ्नो मन्त्रालले धेरै नयाँ योजनाहरुमा काम गरिररहेको बताए । उनका अनुसार अहिले कृषि मन्त्रालयले किसानी गर्ने हरुवाचरुवाका लागि स्पेशल प्याकेज ल्याउने बारे गृहकार्यको थालनी गरिसकेको छ । यो प्याकेज लागू भएमा किसानहरुलाई धेरै फाइदा पुग्ने उनको भनाइ छ ।

स्वागत तथा सम्मान कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरी, प्रदेश सांसद श्याम पटेल, प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, क्षेत्रीय सभापति महम्मद शहाबुदिन लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार