Logo

२७ साउन,वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले आज पर्सा जिल्लाका दुइवटा अदालतको स्थलगत अवलोकन गरेका छन् । कानुन मन्त्री चौरसियाले जिल्ला अदालत बीरगन्ज र उच्च अदालत जनकपुर अस्थाइ इजलास बीरगन्जको स्थलगत अवलोकन गरेका हुन ।

अवलोकनका क्रममा कानुन मन्त्री चौरसियालाई जिल्ला अदालत र अस्थाइ इजलास बीरगन्जका प्रमुख न्यायाधीशद्वयले अदालतको भौतिक संरचनासहित अन्य समस्याको बारेम जानकारी गराएका थिए । जिल्ला अदालत पर्साका प्रमुख न्यायाधीश दीपक खनालले मन्त्री चौरसियालाई जिल्ला अदालतमा भौतिक संरचना एकदम जीर्ण रहेको भन्दै अवलोकन गराएका थिए ।

त्यस क्रममा उनले अदालतमा भौतिक संरचनाको समस्यासंगै जग्गाको पनि कमी रहेको गुनासो गरेका थिए । अवलोकनमा जिल्ला न्यायाधीश खनालले जिल्ला अदालतमा मुद्दाको धेरै चाँप भएपनि त्यसअनुसारको सुविधा भने अदालतसंग नरहेको मन्त्री चौरसियालाई बताएका थिए ।

‘हामीसंग कामको चाँप धेरै छ, तर पर्याप्त ठाउँ छैनन् । भवन जीर्ण छ । जहाँ बसेर सजिलोसित काम गर्ने अवस्था छैन । त्यसकारण मन्त्रीज्यूबाट यी सब समस्याहरुको सम्बोधन होस,’ न्यायाधीश खनालले भने ।

यसैगरी अस्थायी इजलास बीरगन्जका प्रमुख न्यायाधीश डा. रत्नबहादुर बागचन्दले पनि अस्थाइ इजलास बीरगन्जमा भौतिक संरचनाको अभावसंगै एकदम न्यून संख्यामा कर्मचारी रहेको जानकारी गराएका थिए ।

निरीक्षणका क्रममा न्यायाधीश बागचन्दले मन्त्री चौरसियालाई कानुन संशोधनमार्फत अस्थाइ इजलासलाई स्थायी बनाउनमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । दुइवटै अदालतको निरीक्षण गर्दै मन्त्री चौरसियाले जिल्ला अदालत र उच्च अदालतमा धेरै समस्या रहेको पाइएको बताए ।

उनले भने, ‘जिल्ला अदालत र अस्थायी उच्च अदालत बीरगन्जमा भवन, कर्मचारीसहितको समस्या रहेको छ, यी समस्याहरु गम्भीर छन् । म यो समस्याप्रति संवेदनशील पनि छु । त्यसकारण सरकारकोतर्फबाट हुने सबै काम यी दुइवटै अदालतका लागि कोसिस गर्नेछु । कर्मचारीहरुको अभावको समस्यालाई चाँडै सम्बोधन हुने गरी पहल गर्नेछु ।’


सम्बन्धित समाचार