Logo

३० साउन,वीरगञ्ज । जनमत पार्टी अध्यक्ष डा.सिके राउतले गणतन्त्र सखाप पार्ने खेल भइरहेको बताएका छन् । खासगरी दुइ ठूला दलहरुबाट गणतन्त्र सखाप पर्ने षड्यन्त्र भइरहेको उनले बताएका हुन ।

जनमत पार्टी पर्साले आज बीरगन्जमा राखेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन । उनका अनुसार नेपालमा दुई दलीय व्यवस्था जबरजस्ती ल्याउने षड्यन्त्र भइरहेको छ । यो षड्यन्त्र भनेको जनतालाई नोक्सानी पुग्ने षड्यन्त्र रहेको उनको भनाइ छ ।

त्यसकारण यो षडयन्त्रको विरुद्ध सडक आन्दोलनका लागि तयार रहन अध्यक्ष राउतले निर्देशन दिए । नेपाली कांग्रेस र एमालेले यो प्रपञ्च रचिरहेको जनाउँदै उनले यससको गन्ध बुधबार चलेको सदनको बैठकबाट प्रष्ट भएको सुनाए ।
यी दुइ दलले गरिरहेको यो षड्यन्त्रको विरोधमा पुनः आन्दोलनमा उत्रिन तयार रहनुपर्ने जरुरी रहेको उनको प्रष्टोक्ति छ ।

यो षड्यन्त्रको आशय भनेको देशबाट साना दलरुलाई समाप्त गर्नु रहेको उनको तर्क छ । उनी भन्छन्, ‘त्यहीकारणले दुइ ठूला दल एकमत देखिएका हुन, मिलेर सरकार पनि चलाइरहेका छन् । जुन संसारमा काही पनि अभ्यासमा छैन । ठूला दलहरुमध्ये एक सरकारमा जाने हो भने अर्को विपक्षमा बस्ने परिपाटी छ । तर हाम्रो मुलुकमा त्यसको उल्टो भइरहेको छ।’

सरकार र सदनबाट विश्वास नरहेको जनाउँदै अबको अन्तिम बाटो भनेको सडक आन्दोलन नै रहेको उनको भनाइ छ । संघीयतालाई ‘पर्फेक्ट’ बनाउँन संघीय सरकारले अझ प्रदेशहरुलाई अधिकार दिनबाट बञ्चित गरिरहेको उनले आरोप लगाए ।

उनी भन्छन्, ‘उहिले पुर्खाहरुले आँपको बोट रोपेका थिए, जसबाट अहिले हामी आँप खान पाइरहेका छौं । त्यस्तै हामीले पनि आफ्नो बच्चाहरुको लागि थप अधिकार प्राप्तिका लागि आज आन्दोलन गर्नुपर्छ । अनि मात्र उनीहरु भोली मिठो फल खान पाउँछन्।’

आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ रम्भा मिश्रासहित एमाले, माओवादी, जसपा, लोसपा पार्टी परित्याग गरी करिब १३ सयको हाराहारीमा कार्यकर्ताहरु प्रवेश गरेको जनमत पार्टीका जिल्ला इन्चार्ज माधव सिंहले बताए ।

प्रवेशमा महिलाको आकर्षण

जनमत पार्टी पर्साले राखेको पार्टी प्रवेश कार्यक्रममा महिलाहरु बढी प्रवेश गरेका थिए । विभिन्न पार्टी परित्याग गरी महिलाहरु बढीको संख्यामा पार्टी प्रवेश गरेका थिए ।

सदरमुकामदेखि गाउँगाउँबाट महिलाहरु कार्यक्रममा आएर अध्यक्ष राउतबाट टिका लगाइ पार्टी प्रवेश गरेका थिए ।पार्टी प्रवेश गरेकाहरुमध्ये आधा जतिको संख्यामा पर्साबाट महिलाहरु जनमत पार्टीको सदस्यता लिएर प्रवेश गरेका हुन ।


सम्बन्धित समाचार