Logo

९ भदौ,काठमाडौं । लेबननको हिजबुल्लाह समूहले आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन आइतबार इसराइलमाथि हमला गरेको छ।

लेबननको राजधानी बेरूतमा एउटा आवासीय भवनको सातौं तलामा हवाई आक्रमण गरेर जुलाई ३० मा इसराइलले शुक्रको हत्या गरेको थियो।

हिजबुल्लाहले सयौं रकेट र ड्रोनले इसराइलमाथि आक्रमण गरेको बताएको छ। समाचार संस्था रोयटर्सका अनुसार हिजबुल्लाहले इसराइलका ११ सैन्य इलाकामा प्रहार गरेको भन्दै पहिलो चरणको बदला सफलतापूर्वक सकिएको बताएको छ।

उता इसराइलले भने हिजबुल्लाहले शुक्रको हत्याको बदला आज लिँदैछ भन्ने थाहा पाएर हिजबुल्लाहलेभन्दा अघि नै लेबननमा हमला गरेको दाबी गरेको छ। करिब १०० लडाकू विमानले लेबननमा रहेका ४० विभिन्न रकेट प्रहार गर्ने स्थलमा आफूले हमला गरेको बताएको छ। अमेरिकी र इसराइली खुफिया संस्थाहरूले हिजबुल्लाहले आजै ठूलो स्तरमा इसराइलमाथि हमला गर्ने थाहा पाएपछि दुई देशको सल्लाहमा इसराइलले हमला गरेको बताइएको छ।

हिजबुल्लाहले मध्य इसराइलमा पनि प्रहार गर्ने योजना बनाएकोमा बिहानै इसराइलले गरेको हमलाका कारण उसले लेबननसँगको उत्तरी सीमा छेउको स्थानमा मात्रै आक्रमण गर्न सकेको इसराइली सैनिक प्रवक्तालाई उदृत गर्दै द न्यू योर्क टाइम्सले जनाएको छ।

हिजबुल्लाहले भने इसराइलले हमला ग¥यो भनेर स्वीकार नगरी आफ्नो बदलाको कारवाही आजका लागि सकिएको बताएको छ।

इसराइलले लेबननमा गरेको हमलामा तीन जनाको मृत्यु भएको बाहेक अन्य हताहती वा अरू क्षतिको विवरण अहिलेसम्म आएको छैन।

इसराइलले बिहानै गरेको हमला र हिजबुल्लाहले त्यसपछि गरेको हमला दुवैले एक अर्का माथि विगत केही वर्षमा गरेको सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ।

यसैबीच इसराइलले हिजबुल्लाहसँगको आजको भिडन्तका कारण ४८ घण्टाका लागि आपतकाल घोषणा गरेको छ। उता अमेरिका पनि इरानले समेत इसराइलमाथि हमला गर्नसक्ने भएकाले सतर्क भएर बसेको छ।

इसराइलले शुक्रको हत्या भएको केही घण्टापछि हमासका शीर्ष नेता इस्माइल हनियेको पनि इरानको राजधानी तेहरानमा हत्या गरेकाले दुवैले मिलेर एकैचोटि इसराइलमाथि जवाफी हमला गर्ने अपेक्षा गरिएको थियो।

शुक्र र हनियेको हत्या पछि इरान र इसराइलको युद्ध हुन सक्ने भनेर अमेरिकाले पहिले नै इसराइललाई सहयोग गर्न युद्धपोतहरू त्यता पठाइसकेको छ।

गोलन हाइट्समा जुलाई २७ मा १२ केटाकेटीहरूको ज्यान जाने गरी भएको रकेट हमलाको बदला लिन इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको बताएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले नेपालका १० जना र केही विदेशीका साथै १२ सय इसराइलीको ज्यान जाने गरी इसराइलमा आक्रमण गरेको थियो। त्यसपछि हमासको समर्थनमा हिजबुल्लाहले लगातार इसराइलमा रकेट प्रहार गरिरहेको छ।

जुलाई २७ को हमला हिजबुल्लाहले गरेको आरोप इसराइलले लगाए पनि हिजबुल्लाहले भने केटाकेटीहरू खेलिरहेको मैदानमा आफूले आक्रमण नगरेको दाबी गरेको थियो। तर पनि हिजबुल्लाहले लेबननबाट लगातार इसराइलमा प्रहार गरिरहने भएकाले र सो दिन पनि हमला गरेकाले लेबननसँग सीमा जोडिएको सो क्षेत्रमा पनि उसैले भूलवश आक्रमण गरेको मानिन्छ। केटाकेटी त्यो पनि यहुदी नभएर ड्रुज समुदायका भएकाले उसले सो घटनाको जिम्मेवारी नलिएको मानिन्छ।

ड्रुज धर्म शिया समुदायबाट छुट्टिएको हाँगा हो। शिया मुस्लिम समुदायको हिजबुल्लाहले ड्रुज समुदायका केटाकेटीको हत्या गरेको स्वीकार्न गाह्रो भएकाले उसले जिम्मेवारी नलिएको मानिन्छ। ड्रुज समुदायका मानिस लेबननमा समेत बस्ने भएकाले पनि हिजबुल्लाहलाई सो घटनाले अप्ठ्यारो परेको थियो।

सन् १९६७ को युद्ध जितेर इसराइलले सिरियाबाट गोलन हाइट्स लिएको थियो। त्यहाँ पहिल्यैदेखि बसिरहेका ड्रुज समुदायलाई इसराइलले नागरिकता दिएको छ। उनीहरू इसराइली सेनामा समेत छन् र अरब–प्यालेस्टिनीहरू जस्तो इसराइल विरोधी छैनन्।

अरब–प्यालेस्टिनी र इसाई अल्पसंख्यक समुदायलाई समेत चरम विभेद गरेका कारण आलोचना खेप्ने इसराइललाई भने ड्रुज समुदायका केटाकेटीको हत्याले बदला लिने झन् राम्रो बहाना मिल्यो। यहुदी मात्रै नभएर आफ्नो देशमा रहेका अल्पसंख्यकमाथि प्रहार भए पनि इसराइलले सहँदैन भनेर सन्देश दिन पायो।

शुक्रको हत्या भएको केही घण्टापछि इसराइलले हमासका शीर्ष नेता इस्माइल हनियेको पनि हत्या गरेको थियो। हमासको राजनीतिक विभागका प्रमुख ६१ वर्षीय हनियेको जुलाई ३१ मा इरानको राजधानी तेहरानमा हत्या भएको थियो। इरानी राष्ट्रपति पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन हनिये तेहरान पुगेका थिए। सोही दिन उनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई पनि भेटेका थिए। हनियेको हत्या गर्न करिब दुई महिनाअघि इरानको गेस्ट हाउस पु¥याइएको बम इसराइलले रिमोट कन्ट्रोलबाट विस्फोट गराएको भनेर द न्युयोर्क टाइम्सले खुलासा गरेको छ।

आफ्ना राष्ट्रपतिको शपथ ग्रहणमा आएका विशिष्ट पाहुनामध्येका एक हनियेको हत्या भएपछि जवाफमा इरानले इसराइलमाथि हमला गर्ने अपेक्षा गरिएको छ। हनियेको हत्या भएको केही घण्टा मात्र अघि आफ्ना सर्वोच्च सैन्य कमान्डर शुक्रको हत्या भएकाले हिजबुल्लाहले पनि इसराइलसँग बदला लिन खोजिरहेको थियो।

सिमाना नजोडिए पनि इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकमा विभिन्न समूहहरू परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ।

सिरियामा बसर अल असदको सरकारलाई पनि सैन्य सहायता दिने इरानले आफूले परिचालन गरेका विभिन्न समूहलाई ’एक्सिस अफ रेजिस्टेन्स’ (प्रतिरोधको अक्ष) भन्छ।

इरान र हिजबुल्लाहले एकै पटक इसराइलमाथि आक्रमण गरे इरान र इसराइलको युद्ध नै हुन सक्ने खतरा छ। त्यो बुझेर अमेरिकाले भने इसराइल र हमासको युद्धविराम गराएर इरान र हिजबुल्लाहको जबाफी कारबाही रोक्न खोजिरहेको थियो। इरानले अहिलेसम्म जवाफी कारवाही नगरे पनि हिजबुल्लाहले भने आज शुक्रको हत्याको बदलामा कारवाही गरेको छ।


सम्बन्धित समाचार