Logo

११ भदौ, काठमाडौं ।  क्यानडाले चीनबाट आयात भएका विद्युतीय गाडीमा शतप्रतिशत भन्सार शुल्क लगाउने भएको छ । अमेरिका र युरोपेली सङ्घले चीनका विद्यूतीय गाडीमा कर बढाउने घोषणा गरिसकेका छन् ।

अमेरिका र युरोपेली सङ्घकै नजिकको मित्र रहेको क्यानडाले चिनियाँ विद्युतीय गाडीको आयातमा एक सय प्रतिशत र स्टील तथा आल्मुनियममा २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । यी शुल्कहरू चीनबाट आयात भएका सबै विद्युतीय गाडीमा लागू हुनेछन् । जसमा टेस्लाले चीनमा बनाएका गाडी पनि समावेश छन् ।

गएको वर्ष क्यानडामा ४४ हजार तीन सय ५६ वटा चिनियाँ गाडीको आयात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ४ सय ६० प्रतिशतले बढेर धेरै हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीन सरकारले त्यहाँका कम्पनीलाई दिएको अधिक सहुलियतको मारमा आफ्ना देशका कम्पनी नपरुन भनेर शुल्क लगाएको बताउनुभएको छ ।

क्यानडामा रहेको चिनियाँ दूतावासले यो कदमको विरोध गर्दै विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को नियमहरूलाई क्यानडाले बेवास्ता गरेको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनामा चिनियाँ विद्युतीय गाडीमा चार गुणा बढाएर शतप्रतिशत, अर्धचालक र सौर्य व्याट्रीमा कर दोब्बर गरी ५० प्रतिशत र अन्य रणनीतिक सामानहरूमा नयाँ २५ प्रतिशत करको घोषणा गर्नुभएको थियो ।

चीनमा बनेका सस्ता र आकर्षक विद्युतीय गाडी संसारभर लोकप्रिय बन्न थालेपछि चीनका प्रतिस्पर्धी देशले कर बढाइरहेका छन् ।


सम्बन्धित समाचार