Logo

११ भदौ,काठमाडौं । युक्रेनले सोमबार रसियामा धेरै ड्रोन आक्रमण गरेको छ। यसले क्षेत्रका दुई ठूला सहरका धेरै घरमा क्षति पुर्याएको छ भने एक महिला घाइते भएकी छिन् ।

रुसी मिडियाले युक्रेनी ड्रोनले रुसको एंगेल्स सहरमा रहेको एयरबेसलाई निशाना बनाएको जानकारी दिएको छ । रुसको वायु रक्षा प्रणालीले उनीहरुलाई रोक्न खोजेको थियो ।

यसैबीच, एउटा ड्रोन साराटोभको एउटा अग्लो भवनमा ठोक्कियो भने अर्को एंगेल्सको एउटा भवनको छतमा ठोक्कियो। भवनको भग्नावशेषका कारण धेरै सवारी साधनमा क्षति पुगेको छ ।

बीबीसी रुसी सेवाका अनुसार टेलिग्राम च्यानल म्यासमा एउटा भिडियो सार्वजनिक गरिएको छ । जसमा ड्रोन ३७ तले आवासीय भवनमा ठोक्किएको र त्यसमा विस्फोट भएको देख्न सकिन्छ ।

धेरै च्यानलहरूले जारी गरेका तस्विरहरूले यस भवनको तीन तलाका झ्यालहरू आक्रमणबाट क्षतिग्रस्त भएको देखाउँछन्। हाल कसैको मृत्युको बारेमा कुनै जानकारी आएको छैन।

क्षतिग्रस्त सवारी साधन र घरको छानाको भिडियो पनि टेलिग्राम च्यानल म्यासमा सार्वजनिक गरिएको छ । त्यहाँ दुईवटा ड्रोन मात्र थिए वा बढी थिए भन्ने थाहा छैन। तर, साराटोभ क्षेत्रका गभर्नर रोमन बुसार्गिनले घटनाको पुष्टि गरेका छन्।

बसर्गिनले भने, “एउटी महिलालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलमा अन्य मानिसहरूलाई सहयोग भइरहेको छ।”

रुसको रक्षा मन्त्रालयले हिजो राति र आज बिहान देशका विभिन्न क्षेत्रमा २० युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

मन्त्रालयले साराटोभ क्षेत्रमा नौ ड्रोन, कुर्स्क क्षेत्रमा तीन, ब्रायनस्क, बेल्गोरोड र तुला क्षेत्रमा दुई–दुई र ओरियोल र र्याजान क्षेत्रमा एक–एक ड्रोन खसालेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार एंगेल्समाथि भएको आक्रमणमा थप सात ड्रोन पनि संलग्न थिए । उनीहरुलाई गोली हानेपछि भग्नावशेष कहाँ खसेको र के के क्षति भयो भन्ने बारे केही जानकारी आएको छैन ।

पछि रुसले पनि युक्रेनमा मिसाइल आक्रमण गरेको थियो । कीभ, लुत्स्क र पोल्टावा क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो।

 


सम्बन्धित समाचार