१२ भदौ,काठमाडौं । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ । चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ ।
घटना स्थानीय समय अनुसार बिहान ११ः२९ बजे भएको हो। चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रह्यो । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो। कुरा डान्जो टापुको हो ।
जापानका मुख्य क्याबिनेट सचिवले उल्लङ्घनलाई “पूर्ण रूपमा अस्वीकार्य” भनेर वर्णन गरे र घटनाको विरोध गर्न चिनियाँ दूतावासका एक अधिकारीलाई बोलाए। क्षेत्रमा तनाव बढेको बेला घटना भएको हो । यहाँ चीनले अमेरिका र जापान लगायतका उसका अन्य सहयोगीहरु विरुद्ध आफ्नो प्रभाव बढाउन खोजिरहेको छ ।
जापानी प्रसारक एनएचकेका अनुसार सोमबारको यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो। तर फ्लेयर गन जस्तो कुनै हतियार प्रयोग भएन। जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँग यो घुसपैठको विरोध गर्ने बताएको छ । साथै उनले आगामी दिनमा यस्तो नहोस् भनेर पनि माग गरेका छन् ।
यस विषयमा चीनबाट आधिकारिक प्रतिक्रिया आएको छैन।















