२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना गरेको भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
विभिन्न सञ्चार माध्यममा आफ्नाबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले विज्ञप्तिमार्फत समाचारप्रति आपत्ति जनाएका हुन् ।
सोमबार साँझ जारी विज्ञप्तिमा भनिएको छ ‘अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपिल गर्न चाहन्छु ।’
उपसभापति गुरुङले श्रीमतीले सहकारीमा काम गरेको र श्रीमतीसँग डिभोर्स भइसकेकाले यो विषयमा आफ्नो नाम जोडिनु गलत भएको दाबी गरेका हुन् । विज्ञप्तिमा गुरुङले भनेका छन्, ‘तत्कालीन मेरी श्रीमती ज्योती गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन् ।
निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन । जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ । साथै निज ज्योतीजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतीजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु ।’
विज्ञप्तिमा थप लेखिएको छ ‘सहकारीका हजारौं बचतकर्ताको करोडौं रकम अपचलन भएको भन्ने सुन्नमा आएको छ । त्यसबारे जो कसैले अपचलन वा ठगी गरेको भए पनि उक्त सहकारीका सम्बन्धमा सत्य तथ्य अनुसन्धानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै छानबिनको माग गर्न चाहन्छु ।’
उनले आफूलाई बदनाम गर्ने कार्य नगर्न सम्बन्धितलाई आग्रह गर्दै सहकारी अपचलनबारे छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएका छन् ।