Logo

२५ चदौ,काठमाडौं । हमासद्वारा सञ्चालित प्रशासनले गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेशनले आक्रमण मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा भएको र अन्य धेरै व्यक्ति घाइते भएको आशंका गरेको बताएको छ।

इजरायली सेनाले भन्यो ‘हाम्रा लडाकु विमानहरूले खान युनिसमा हमास लडाकुहरूको सञ्चालन केन्द्रमा आक्रमण गरे र यो अपरेशनमा नागरिकहरूलाई क्षति हुनबाट जोगाउन उपायहरू गरिएको थियो।’

स्थानीय बासिन्दाहरूले भनेअनुसार अल–मावासीमा विस्थापित मानिसहरूको पालमा तीनवटा आक्रमणहरू गरिएको थियो र ठूलो खाडल बनेको थियो । अल–मवासी खान युनिसको पश्चिममा सर्वसाधारणको बसोबास भएको क्षेत्र हो।

हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकले बीबीसीलाई भने, “४० जनाको मृत्यु भएको छ र ६० जना घाइते भएका छन् भने धेरै मानिस भग्नावशेषमा दबिएका छन्।”

गत वर्ष अक्टोबरमा इजरायलले आफ्नो सैन्य अभियान सुरु गरेपछि हजारौं विस्थापित प्यालेस्टाइनीहरू आफ्नो ज्यान बचाउन खान युनिसतिर भागेका थिए।

अक्टोबर ७ मा इजरायल भित्र हमासको आक्रमण पछि इजरायलले यो भूमि सैन्य अभियान सुरु गरेको थियो, जसमा १२०० जनाको मृत्यु भएको थियो र २५१ मानिसहरूलाई गाजामा बन्धक बनाएको थियो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म ४०,९०० भन्दा बढी मानिस मारिएका छन्।

 


सम्बन्धित समाचार