Logo

१ असोज,काठमाडौँ । कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रुर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन्।

अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकिस्तकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश सिर्जना भएको छ।

उक्त हत्यापछि सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो र महिलाका लागि सुरक्षित स्थितिको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरेका छन्। बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हडताल शान्त भए पनि पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा नियमित प्रदर्शन जारी छ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सोमवार राति चिकित्सकहरूसँगको बैठकपछि कोलकाता प्रहरी आयुक्त र स्वास्थ्य विभागका दुई अधिकारीलाई हटाउने घोषणा गरिन्।

तथापि पश्चिम बङ्गाल जुनियर डाक्टर्स फ्रन्ट विरोध समूहका प्रवक्ता अनिकेत महतोले घटनाको अनुसन्धान पूरा नभएसम्म आन्दोलन नरोकिने बताए।

हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल राज्यको सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ।


सम्बन्धित समाचार