Logo

६ असोज, रावलपिण्डी । पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेष गरी पोटोहार नगरको चक जलाल डिनलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरुमध्ये एक रहेको अधिकारीहरूले जनाएका छन् ।

सङ्क्रमणको डरलाग्दो वृद्धिपछि स्वास्थ्य अधिकारीले चक जलाल डिनमा एउटा मोबाइल स्वास्थ्य इकाई स्थापना गरी भाइरसको फैलावट नियन्त्रण गर्न आकस्मिक सेवा सुरु गरेका छन् । पछिल्लो २४ घण्टामा ४४ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ भने यस क्षेत्रमा मात्र २२६ जनामा डेङ्गु को सङ्क्रमण पुष्टि भएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

जिल्ला स्वास्थ्य प्राधिकरणले डेङ्गुविरुद्ध अभियान चलाए पनि डेङ्गु सार्ने लामखुट्टेको सङ्क्रमण फैलिन नदिन गरिएका प्रयासहरु अपर्याप्त देखिन्छन् । जिल्लाभर डेङ्गुका सङ्क्रमितको सङ्ख्या ५४३ पुगेको छ भने डेङ्गुसङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ । पोटोहार शहरमा पछिल्लो २० घण्टामा २५ जना नयाँ संक्रमित थपिएका छन् ।

यस क्षेत्रमा अन्य स्वास्थ्य समस्याहरु पनि चिन्ताको विषय बनेका छन् । यो क्षेत्रमा वर्षा ऋतुमा कङ्गो ज्वरोका दुई र औलोका ६५१ घटनाहरु रेकर्ड गरिएको छ भने जिल्लामा अहिलेसम्म मङ्कीपक्सको कुनै रिपोर्ट नआएको एक्सप्रेस ट्रिब्यूनले अधिकारीहरुलाई उदृत गरी समाचारमा उल्लेख गरेको छ । जिल्ला स्वास्थ्य प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत आसिफ अरबाब नियाजीले सरकारले सङ्क्रमण रोक्न पहल गरिरहेको तर नागरिक सतर्क रहन आवश्यक रहेको बताएका छन् ।

“सर्वसाधारणले अक्टोबर १५ सम्म सावधानी अपनाउनु पर्छ,” उनले भने । सङ्क्रमण फैलिन नदिनका लागि पानी जम्न नदिन, साँझपख झ्याल ढोका बन्द गर्न, लामो बाहुला भएको लुगा लगाउन र लामखुट्टेबाट टाढा रहनेजस्ता सावधानीलाई नियमितरुपमा अपनाउनुु पर्नेमा उनले जोड दिए ।


सम्बन्धित समाचार