Logo

६ असोज,  काठमाडौँ । श्रीलंकामा हिजो भएको राष्ट्रपतीय चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके निर्वाचित भएका छन् । उनले ५३ प्रतिशत मतसहित अन्य उम्मेदवार भन्दा सबै भन्दा अगाडि छन् । निर्वाचन आयोगले विजयको औपचारिक घोषणा गर्न भने बाँकी नै छ । अनुरालाई  आजै राष्ट्रपतिको शपथ ग्रहण गराइँदैछ । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । हालसम्मको नतिजामा वामपन्थी नेता अनुरा दिसानायकेले शानदार अग्रता लिएका छन् ।

श्रीलंकाको निर्वाचन आयोगको आँकडाअनुसार १० लाख भोट गणना भइसक्दा दिसानायकेले ५० प्रतिशत मत पाएका छन् । राष्ट्रपति निर्वाचित हुन ५१ प्रतिशत मत ल्याए पुग्छ । दिसानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनको उम्मेदवार हुन् । यो गठबन्धनमा उनको पिपुल्स लिवरेसन फ्रन्ट पार्टी (जेभीपी) पनि सामेल छ । दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् । पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल एक प्रतिशत मत पाएका छन् ।

श्रीलंकाको राष्ट्रपति पदका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो । बीबीसीका अनुसार निर्वाचनमा ७० प्रतिशत मतदान भएको छ । मतदान सकिएलगत्तै देशभर कर्फ्यु लगाइएको छ । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि मतगणनाको क्रममा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गरी कर्फ्यु लगाइएको सरकारी अधिकारीहरुले बताएका छन् । श्रीलंकामा दुई वर्ष अगाडि आर्थिक अवस्था बिग्रिएपछि विरोध प्रदर्शन भएको थियो । त्यसपछि पहिलो पटक नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो ।


सम्बन्धित समाचार