Logo

१६ पुस,पचगावाँ। जरायो मारेको घटनामा पर्सा राष्ट्रिय निकुञ्जले अनुसन्धानको लागि दुईजना प्रदेशसभा सदस्य र एकजना पूर्वापालिका अध्यक्षलाई बोलाएको छ । गत पुस ४ गते मङ्गलवार राति पर्सा राष्ट्रिय निकुञ्ज र मातहत रहेको नेपाली सेनाको टोलीले मृत जरायो सहित पाँचजना शिकारीलाई पक्राउ गरेको थियो ।

उनीहरुको बयान अनुसार पर्सा राष्ट्रिय निकुञ्जबाट आधुनिक हतियार प्रयोग गरी दुईवटा जरायो मारेको घटनामा संलग्न रहेको प्रमाणको आधारमा वाग्मती प्रदेशसभा सदस्य श्याम खडका, मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवाल र प्रमोदका भाइ पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललाई अनुसन्धानको लागि पत्र काटिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित काङ्ग्रेस नेता श्यामबहादुर खड्काको बन्दुक बरामद भएपछि उनलाई अनुसन्धानको लागि पत्र काटिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।

त्यस्तै घटनामा पर्सा क्षेत्र नं ३ (१)का प्रदेशसभा सदस्य प्रमोद जयसवाललाई उनको घरबाट मृत जरायो सहित पाँचजना पक्राउ परेकोले बोलाईएको हो । त्यस्तै उनका भाई तथा पूर्व गाउँपालिका अध्यक्ष प्रदीपलाई भने उनको नाममा दर्ता रहेको जयसवाल इन्टरप्राईजेजको नामा रहेको प्रदेश २–०२–०३–००१ च ३०९० नम्बरको टोयोटा गाडी बरामद भएकोले अनुसन्धानका लागि बोलाईएको पर्सा हो ।

निकुञ्जका सूचना अधिकारी सूर्य खड्काका अनुसार जरायो मारेको घटनामा उनीहरुको पनि संलग्नता रहेको पाईएकोले तीनजनालाई समेत अनुसन्धानको क्रममा पत्र काटेर बोलाइएको हो । गत पुस ४ गते मङ्गलवार राति पर्सा राष्ट्रिय निकुञ्ज मातहत रहेको नेपाली सेनाको गणले पर्सा राष्ट्रिय निकुञ्जबाट आधुनिक हतियार प्रयोग गरी दुईवटा जरायो मारेको घटनामा सबुत प्रमाणसहित पाँचजनालाई नियन्त्रणमा लिएको थियो ।

यसअघि पक्राउ परेकाहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु चोरी निकासी मुद्दामा अनुसन्धान भइरहेको छ । मुद्दासँग सम्बन्धित सबै सामग्री परीक्षणको लागि वस्तु विधिविज्ञान प्रयोगशालामा पठाइ सकिएको छ । फिल्डमा गर्नुपर्ने सर्जमिन, मुचुल्का तथा बयानको काम टुङ्गो लगाउने अन्तिम चरणमा रहेको र केही व्यक्तिको बयान मात्र बाँकी रहेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी खड्काले बताउनुभयो ।

अनुसन्धानका लागि पक्राउ परेकाहरू ४५ दिनसम्म निकुञ्जले आफ्नो नियन्त्रणमा राख्ने र ऐन अनुसार यस्तो प्रकृतिको मुद्दामा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तथा छ महीनादेखि एक वर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

सेनाको टोलीले फार्म हाउसमा छापामारी गर्दा दुईवटा जरायोसँगै दुईवटा १२ बोरको बन्दुक, सोमा लाग्ने गोली एक थान, २२ एमएमको ९ राउन्ड गोलीलगायतका सबुत प्रमाण बरामद गरेको थियो । पूर्व गापाध्यक्ष जयसवालको उक्त फार्म हाउसमा सो क्षेत्रका चर्चित गाँजा तस्कर विशाल भन्ने लक्षमण सहनी यसअघि पनि पटक–पटक वन्यजन्तु मारेर विशेष अवसरमा भोजभतेर गर्ने गरेको र आफ्ना निकटतमहरूलाई भोज खुवाउने गरेको गाउँलेहरूको भनाइ छ ।

 


सम्बन्धित समाचार