८ कात्तिक,सेढवा । पर्साका ग्रामीण किसानहरुलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि बिभिन्न तालिमको आयोजना गर्दै आएपनि प्रभावकारी हुन सकेको छैन।
किसानहरुको जीवन स्तर उकास्न तथा यू्वाहरुलाई स्वरोजगार बनाउन बिभिन्न पालिकाहरुले लाखौ रकम खर्च गरी बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन्। तर, सो कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन ।
पर्सा जिल्लाका ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिका सहित अन्य पालिकाले संघियता लागू भएको करिब सात बर्षमा यस्ता कार्यक्रमका लागि करौडौ रकम खर्चेका छन्। तर, उत्पादन तर उपलब्धी भने शुन्य देखिन्छ।
व्यवसायिक तथा परम्परागत तरिकाले तरकारी उत्पादन गर्दै आएका किसानहरु अहिले पनि तरकारी उत्पादन गरिरहेका छन। यूवाहरुलाई आत्म निर्भर बनाउने उद्देश्यले जनप्रतिनिधिहरुले मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि तालिमको आयोजना गर्ने कार्यक्रमा सहभागीहरुले सहभागिता मात्रै जनाएका छन् ।
उनीहरुले तालिममा सिकेका विषयहरु व्यवहारमा लागू गर्ने वातावरण भने निर्माण गरिएको छैन । लामो समयदेखि तरकारी खेती गर्दै आएका पटेर्वासुगौली गाउपालिका वडा–४ दाप सुगौली निवासी जगत नारायण पञ्जियारका अनुसार पालिकाले बजेट खर्च गर्न तथा कार्यकर्तालाई पाल्नका लागि मात्र तालिमको आयोजना हुने गरेको आरोप लगाए।
तालिममा लक्षित वर्गलाई नसमेटी जनप्रतिनिधिहरुले आफ्ना आसपासे तथा पार्टीका कार्यकर्ताहरुलाई पठाउने गरेको पञ्जियारको भनाई छ। तालिममा सहभागीहरुले पनि भत्ता खाने बाहेक अरु कुनै पनि क्रियाकलाप नगर्दा पालिकाको लाखौ लाख रकम स्वाहा हुने गरेको पञ्जियारले बताए।
यसका साथै पालिकाहरुले यूवाहरुमा रोजगारी सृजना गर्ने उद्देश्यले अन्य बिभिन्न कार्यक्रममा बार्षिक लाखौ रुपैँया खर्च गर्ने गरेका छन्। पालिकाहरुले सिलाई कटाई, अगरबती बनाउने, साबुन बनाउने, अचार बनाउने, मैनबती बनाउने तालिम, ब्यूटीशियन तालिम, मोबाईल बनाउने तालिम, एलेक्ट्रिसियन तालिम, एल्मुनियम सम्बन्धि तालिमदेखि लोक सेवा आयोगको तैयारी कक्षासम्म कार्यक्रम संचालन गरिएका छन्।
तर, यी तालिमहरुमा सहभागीहरु कति जना यूवा आत्मनिर्भर बन्न सकेका छन ? भनेर स्थानीयले प्रश्न गरेका छन् ।