१५ कात्तिक,वीरगञ्ज । आज लक्ष्मी पूजाको दिन वीरगञ्ज र बजारमा सर्वसाधारणको घुइँचो रहेको छ। विहान कुकुर पूजा र बेलुका लक्ष्मी पूजा गरिने हुँदा बजार क्षेत्रमा फलफूल, सयपत्री मखमली फुलको माला, फूल, माटोको दियोसँगै पूजाको सरसमान खरिद गर्न सर्वसाधारणको बजारमा घुइँचो लागेको हो ।
पूजाका लागि आवश्यक फूल र माला विगत वर्ष भन्दा यसपटक महङ्गो भएको बजारमा सामान किन्न आएका ग्राहक ज्ञनेन्द्र साहले बताए । उनका अनुसार भारतीय बजारबाट सयपत्री फूल भित्रिन नसक्दा एउटा मालालाई ८० रूपैयाँदेखि १ सय २० रूपैयाँसम्म परेको छ ।
यसपटकको तिहारमा अधिकांश सरसमानको मूल्यमा बृद्दि भएको गुनासो गरेका स्थानीय तथा अनुप यादवले बताए । उनले एक प्याकेट मैनबत्तीलाई १ सय रूपैया तिर्नु परेको बताए । सो प्याकेटमा सानो साइजको करिब २४ देखि २८ वटा मैनबत्ती हुने उनको भनाइ छ। स्वदेशी उत्पादन भनेर स्थानीय बजारमा सामान खरिद गर्दा व्यापारी र व्यवसायीले सर्वसाधारणबाट मनपरी रकम असुलेको बताए ।
उनले भने, ‘चाडपर्वका बेलामा समेत यहाँका उद्योगीले सरसमानमा मूल्य बृद्धि गरेछन् । त्यसैले पनि होला सर्वसाधारण दुईपैसा बचत हुने आशमा समान खरिद गर्न भारतीय बजार पुग्छन् ।’
वीरगञ्ज बजारमा सरसामान विक्रीका लागि पर्साको वीरगञ्ज, बाराको जीतपुरसिमरा उपमहानगरपालिका, बिश्रामपुर, कलैया ,पहाडी क्षेत्रबाटसमेत व्यापारीहरु आउने गरेका छन् ।