Logo

२६ कात्तिक,काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी सांसद पदबाट निलम्बित भएका छन् । एमाले संसदीय दलले लिखित जानकारी दिएसँगै कोशी प्रदेश सभाले सूचना टाँस गरेर उनलाई निलम्बन गरिएको जानकारी गराएको हो ।

एमाले नेता अधिकारीलाई प्रहरीले हिजो (आइतबार) पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ । निवर्तमान मन्त्री अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेहरुलाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको आरोप छ । मन्त्री अधिकारीसहित तीन जना युवालाई जापानको अध्यागमन विभागले डिपोर्ट गरेको थियो ।

निवर्तमान मन्त्री अधिकारीसँग जापान गएका ३ जना युवासहित ६ जनालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएको थियो । प्रहरीसँगको बयानमा उनीहरुले आफूहरुले १० लाखदेखि १३ लाख रुपैयाँसम्म तिरेर तत्कालीन मन्त्री अधिकारीसँग जापान गएको बताएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

निवर्तमान मन्त्री अधिकारीलाई अनुसन्धानको दायरा बाहिर राखेको भनी चौतर्फी आलोचना सुरुभएसँगै उनलाई प्रहरीले हिजो नियन्त्रणमा लिएर जहाजमार्फत काठमाडौं ल्याएको थियो । अहिले उनी प्रहरी हिरासतमा छन् । उनलाई २ दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतले अनुमतिसमेत दिइसकेको छ ।


सम्बन्धित समाचार